जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि आक्रमण भएको पाँच महिना पुग्दा पनि प्रहरीले दोषि पत्ता लगाउन सकेको छैन । जिल्लामा असुरक्षाको महसुस गरी पीडित सुवेदी अहिले विस्थापित भई काठमाडौँ बस्दै आएका छन् ।
जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत मन्थली नपा–१, भैँसेसुरका ५० वर्षिय सुवेदीमाथि ०७५ भदौ ६ गते राति अपरिचित व्यक्तिले आफ्नै घरमा सुतिरहेको बेला छुरा प्रहार गरेका थिए ।
आक्रमण लगत्तै उपचारका लागि मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पताल पुयाइएका सुवेदीलाई त्यहाँ उपचार सम्भव नभएपछि सोही राति धुलिखेल अस्पताल पुर्याई उपचार गरिएको थियो ।
पीडित पक्षले भदौ १० गते नै प्रहरीमा उजुरी गरेको भए पनि प्रहरीले हालसम्म दोषि पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी अमरेन्द्रबहादुर सिंहले घटनाको बारेमा प्रहरी अनुसन्धानमा नै रहेको बताए । सो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए । सदरमुकाममै भएको घटनाको पाँच महिना लाग्दा पनि दोषि पत्ता नलागेकोमा स्थानीयमा सन्त्रास बढेको छ ।