जानकी गाउँपालिका–४ मा सञ्चालन भएको दादुराविरूद्धको खोप शिविरमा पुस २५ गते खोप लगाउन ल्याइएका १५ महिने बालक चरण चौधरीलाई दादुराविरूद्धको खोप लगाएको झण्डै १५ मिनेटपछि मृत्यु भएको छ ।
बच्चाका बुवा वासुदेव चौधरीले छोरालाई कुनै किसिमको स्वास्थ्य समस्या नरहेको बताउँदै खोप लगाएको १५ मिनटेमा नै छोरा बेहोस भएपछि टिकापुर अस्पतालसम्म पुर्याउँदा बच्चाको मृत्यु भइसकेको बताए ।
उनले एक स्वस्थ बच्चा खोप लगाएको केही बेरमा नै मृत्यु हुनुमा स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका छन् ।
पीडित परिवार र स्थानीयवासीहरूले घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही नभएसम्म र यसको जिम्मा राज्यले नलिएसम्म बच्चाको अन्तिम दाहसंस्कार नगर्ने जनाएका छन् । शव पोष्टमार्टमको लागि टिकापुर अस्पतालमा राखिएको छ ।
टिकापुर अस्पतालका प्रमुख डाक्टर नरेन्द्र खनालले खोप लगाएकै कारण मृत्यु भएको भन्ने एकिन भइनसकेको बताए । उनले खोप लगाउँदा बच्चाको मृत्यु भएको बारेमा टिकापुर अस्पतालमा परीक्षण गर्न नसकिने भएकाले आशङ्का भए प्रविधियुक्त अस्पतालमा लैजानु पर्ने बताए ।