सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउने तयारीसँगै रुपन्देही जिल्लामा ७ हजार ५ सयभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताहरू रहेका छन् ।
रुपन्देही निर्वाचन कार्यालय भैरहवामा बिहान ८ बजेदेखि नै युवाको भीड लाग्ने गरेको छ । त्यही भिडमा मतदाता नामावली दर्ता गरेकी गीता थापा भन्नुहुन्छ “मताधिकार प्रयोग गर्ने अधिकारका लागि बिहानैदेखि लाइनमा बसेँ ।” अब हरेक निर्वाचनमा सक्षमलाई र हाम्रा भन्दा पनि राम्रालाई मतदान गर्ने हो हामी तीनदेखि चार घण्टासम्म पालो कुर्नुपरे पनि उत्साहित नै छौँ । उहाँले नयाँ पुस्तालाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह समेत गर्नुभयो ।
त्यसै गरी, गुल्मीका कृष्ण थापाले बुटवलबाट परीक्षा सकेर १० बजे मतदाता नामावलीका लागि भैरहवा निर्वाचन कार्यालय पुगेर फोटो खिचाउन र वायोमेट्रिकै लागि त्यहाँ पुगेको बताउनु भयो ।
देवदहका रोहिणीका सञ्जय कोरी बिहान ९ बजेदेखि लाइनमा बसेको बताउनुहुन्छ “ स्थानीय तहमै मतदाता नामावली दर्ता गर्ने सुविधा भएको भए हामीलाई यसरी घण्टौँ लाइन बस्नुपर्दैनथ्यो,” कोरीले भन्नुभयो । अहिले म २६ वर्षको भए पहिलो पटक मतदाता परिचयपत्र बनाउन आएको छु ।
जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार रुपन्देहीमा मतदाता नामावली दर्ता अन्तिम चरणमा पुगेको छ अब बाँकी चार दिन मात्रै छ । “हामी जनताको सेवक हौँ । सेवाग्राही नसकुन्जेल रातीसम्म भए पनि कार्यालयमा काम गरिरहेका छौँ,”अर्यालले भन्नुभयो ।
अर्यालका अनुसार कात्तिक २६ गते १२ बजेसम्म ७ हजार ५ सय ८४ जनाले नयाँ दर्ता गरेका छन्, जसमा करिब ८० प्रतिशत युवा छन् । “सुरुवाती दिनहरूमा दैनिक ३०–४० जना मात्रै आउँथे । अहिले अन्तिम चरणमा कार्यालय थेग्नै मुस्किल परेको छ,”अर्यालले बताउनुभयो ।
अहिले कार्यालयमा अतिरिक्त दुई कर्मचारी थप गरी सेवा दिइरहेको छ । कात्तिक २५ गते मात्रै ९ सय ४० जना नयाँ दर्ता भएका छन् यसरी अन्तिममा भिडभाड बढिरहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार हाल रुपन्देहीमा ६ लाख ४३ हजार ८ सय ७४ मतदाता रहेका छन् । तीमध्ये ३ लाख १३ हजार ४ सय ५ पुरुष र ३ लाख ३० हजार ४ सय ६१ महिला मतदाता रहेका छन् ।
अर्यालका अनुसार बाहिरी जिल्लाका नागरिकले समेत रुपन्देहीबाट दर्ता गर्न पाउने व्यवस्थाले यहाँ भीड बढेको हो । “सबै दर्ता रुपन्देहीकै होइनन्, बाहिरी जिल्लाबाट पनि यहाँ आएर दर्ता गर्नेहरू धेरै छन्,” अर्यालले भन्नुभयो ।
मतदाता नामावली दर्ता र अद्यावधिक कार्य असोज १० गतेदेखि सुरु भएको हो र कात्तिक ३० गतेसम्म जारी रहनेछ ।