०८२ असोज र कात्तिक महिनामा परेको वर्षाको कारण गएको पहिरोले क्षति पुगेपछि विद्यालय भवन मर्मत नहुँदा रामेछाप नगरपालिका वडा नं–५ मा रहेको शिवालय आधारभूत विद्यालय माझीगाउँका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विद्यालय भवनको अभावमा सीमान्तकृत माझी समुदायका बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । चिसो बढेसँगै खुल्ला चौरको पठन पाठनले विद्यार्थीहरूलाई मर्कामा परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेलका अनुसार माझीगाउँको शिवालय आधारभूत विद्यालयमा सडक माथिबाट पहिरो झरेर विद्यालय भवनको छानो सहित सबै कक्षाकोठाहरूमा क्षति पुगेका कारण विद्यार्थीलाई कक्षा कोठामा राख्न सकिने अवस्था छैन ।
शिक्षा विभागका प्राविधिक सहायक श्रवण कुमार शर्माका अनुसार उक्त विद्यालयमा ०८२ कार्तिक १२ गतेदेखि विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् ।
भवन अभावका कारण उक्त विद्यालयमा रामेछाप नगरपालिका, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा सहितको सहयोगमा ८ लाख ९३ हजार रुपैँयाको लागतमा प्रीफ्यावको अस्थायी सिकाई केन्द्र निर्माण भइरहेता पनि उक्त भवन पुरा हुन केही समय लाग्ने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो ।

