INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गुलरिया नपा–५ कृष्णसार टोलकी २५ वर्षीया सुष्मा कुँवरलाई चिरपट प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति मोहन बोहरालाई पुस २४ गते गिरफ्तार गरेको छ ।

घटनाका आरोपित नेपाली सेनाको जवरजङ्ग गण बुटवल रामनगरमा सिपाही पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

घर आएको बेला मोहन बोहराले पत्नीलाई गुलरिया नपा–५ कृष्णसार टोलस्थित घरमै पुस २३ गते राति हत्या गरी फरार भएको स्थानीयको सूचनाको आधारमा खोजी गरी गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

घटनास्थल घरको कोठामा सुष्माको शव रक्ताम्य अवस्थामा थियो । दाउर चिरपट रगत लागेको अवस्थामा तथा कुर्सी समेत भाँचिएको अवस्थामा थियो । भित्तामा रगतका छिटा लागेको थियो । प्रहरीका अनुसार खाना र भाँडाहरू छरपष्ट थिए ।

प्रहरीले घटना अनुसन्धानका लागि मृतकका ६८ वर्षीय ससुरा टीकाराम बोहोरा र ५५ वर्षीया सासू बिजु बोहोरालाई पनि पुस २४ गते नै घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेन्द्रबहादुर मैनालीले बताए । घटना घटेको रात सासू र ससुरा घरमा नभएको पाइएको एसपी मैनालीले बताए ।

घटनाको प्राम्भिक अनुसन्धान भइरहेको र पीडित पक्षबाट जाहेरी आउने बितिक्कै दर्ता गरी थप अनुसन्धान अगाडि बढाएर कानुनी कारवाही अगाडि बढाउने पनि मैनालीले बताए ।

गुलरिया नपा–३ खेरी माइतीघरमा रहेकी पीडित सुष्माको पाँच वर्ष अगाडि मोहन बोहरासँग मागी विवाह भएको थियो ।

उनीबाट जन्मिएका पाँच वर्षका एक र तीन वर्षका एक गरी दुई छोरा रहेका छन्  । पीडित सुष्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको छ ।

अन्य

भिडियो