INSEC Online

📅 २०८३ जेष्ठ २१

बेमौसमी वर्षाले लुम्बिनीमा साढे १३ करोड रुपियाँ बढीको पूर्ण क्षति

गत हप्ता परेको बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशमा लगाइएको धानबाली मध्ये १३ करोड ४३ लाख मूल्य बराबरको धानबालीमा पूर्ण क्षति भएको छ ।

उक्त वर्षाले प्रदेशका १२ जिल्ला मध्ये सात जिल्लाको ८ सय ९६ हेक्टरको ३ हजार ८ सय ९७.६८ मेट्रिक टन धानबाली पूर्णरुपमा क्षति भएको हो ।

३ हजार ४ सय ६३ रुपैयां ८१ पैसा प्रति क्वीन्टल समर्थन मूल्य र ४.३३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्वका आधारमा यो क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो ।

यो वर्ष लुम्बिनी प्रदेशमा २ लाख ९८ हजार १० हेक्टरमा धान रोपिएकोमा प्रारम्भिक रुपमा संकलन भएको विवरण अनुसार कूल बालीको ०.३० प्रतिशत धान पूर्णरुपमा क्षति भएको अधिकृत गैरेले बताउनुभयो ।

प्रदेश निर्देशनालयका अनुसार सबैभन्दा बढी रुपन्देहीको २ सय ४० हेक्टर र सबैभन्दा कम बर्दियामा ५ हेक्टरको धानबाली पूर्ण क्षति भएको छ । बढी क्षति हुने जिल्ला मध्ये दोस्रोमा गुल्मीको २ सय २२ हेक्टर, तेस्रोमा नवलपरासी पश्चिमको २ सय एक हेक्टर र चौथोमा कपिलवस्तुको १ सय ४४ हेक्टरको धानबाली पूर्णरुपमा क्षति भएको छ ।

त्यसै गरी अर्घाखाँचीमा ५३ हेक्टर र पाल्पामा ३२ हेक्टर खेतको धान बालीमा पूर्ण क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

‘प्रतिशतमा हेर्दा थोरै भएपनि किसानको व्यक्तिगत धान खेतीको हिसाब गर्दा किसानका लागि यो ठूलै क्षति हो’– निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले भन्नुहुन्छ–‘यो प्रारम्भिक विवरण हो, अब प्रदेशका पालिका र किसान समेतको यकिन तथ्यांक केही दिनमा आउंछ ।’ प्रदेशमा १ लाख ६९ हजार ३ सय १५ हेक्टर अर्थात ५६.८२ प्रतिशत धानबाली विना क्षति थन्काइएको र एक लाख २१ हजार २ सय १५ हेक्टर अर्थात ४०.६७ प्रतिशत धान काट्न बाँकी रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । काटेर खेतमा राखेको मध्ये ७ हजार २ सय ५० हेक्टर अर्थात २.४३ प्रतिशत धानबाली भिजेको अधिकृत गैरेले बताउनुभयो ।

प्रदेशका दाङ, बाँके, रोल्पा, प्युठान र रुकुम पुर्वमा धान बालीमा हालसम्म क्षति नभएको निर्देशनालयले जनाएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो