INSEC Online

📅 २०८३ जेष्ठ २१

जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय विस्थापित

आमाछोदिङमो गाउँपालिका–१ मा बाँध बनाएर सञ्चालित २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाका कारण उत्तरगया गाउँपालिका –१ र आमाछोदिङमो गाउँपालिका –१ का स्थानीयहरु विस्थापित भएका छन् ।

विस्थापित परिवारको घर चर्केको कारण उनीहरु अस्थायी टहरा र भूकम्पको जोखिम ग्रस्त क्षेत्रमा बस्न बाध्य भएका छन् । उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थीत विद्युत् गृह निर्माण स्थल क्षेत्रमा अत्याधिक बिस्फोटक पदार्थ प्रयोगका कारण घरहरू चर्किदा उत्तरगया गाउँपालिका–१ का स्थानीयहरु सोही स्थानमा रहेको अस्थायी टहरामा बस्दै आएका छन् ।

विस्थापित भएकाहरूमा ३८ वर्षीया महिला छेन्जुम लामा, ६५ वर्षीय आशावीर तामाङ , ४५ वर्षीय श्याम तामाङ, ५६ वर्षीय लायुल तामाङ, ६६ वर्षीय पूर्ण तामाङ र ५१ वर्षीया महिला वर्षिया महिला उर्ची तामाङ को परिवार विस्थापित भइ हाल उनीहरु सोही स्थानमा रहेको अस्थायी टहरामा बस्दै आएका छन् । त्यस्तै आमाछोदिङमो गाउँपालिका–१ की ५९ वर्षिया महिला फुलमाया तामाङ , ५१ वर्षिय लाक्पा तामाङ, ३८ वर्षीया सार्की बुटी तामाङ, ३६ वर्षीय जीवन लामा र च्याङबा तामाङ विस्थापित भइ अस्थायी टहरामा बस्दै आएका छन् ।

विस्थापित हुनु परेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ०८१ पुस २१ गते निवेदन दिएता पनि हालसम्म सुनुवाइ नभएको स्थानीय जंगबहादुर तामाङले बताउनु भयो । उहाँका अनुसार पक्की ढलान तथा कच्ची गरी मैलुङ्गमा चार वटा घर चर्केको, चिरु र गोगनेमा १७ घर वटा घरहरू समेत जोखिममा रहेका छन् ।

आयोजनाले उत्तरगया, कालिका, आमाछोदिङमो र गोसाइकुण्ड गाउँपालिका प्रभावित बनेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कूल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्।

हेमनाथ खतिवडा

अन्य

भिडियो