INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा नयाँ मतदाता नामावली सङ्कलन उत्साहजनक

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले असोज ९ गतेदेखि ०८२ कात्तिक ३० गतेसम्म देशभर मतदाता नामावली सङ्कलन गरिरहेको छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ०८२ असोज ८ गते संविधानको धारा ११४ बमोजिम मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै निर्वाचनको तयारीमा आयोग लागेको छ ।

निर्वाचन आयोगले ०८२ असोज १० गतेदेखि जिल्लाजिल्लामा सुरुआत गरेको नयाँ मतदाता नामावली सङ्कलनका क्रममा कोशी प्रदेशका अधिकांश जिल्लामा युवा पुस्ताले मतदाता नामावलीमा नाम दर्ता गराएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

कोशी प्रदेशमा असोज १० गतेदेखि कार्तिक २० गतेसम्मको अवधिमा ८ हजार ८ सय ५६ जना पुरुष र ६ हजार ६ सय ९४ जना महिला गरी १५ हजार ५ सय ५० जनाले नाम दर्ता गराएका छन् ।

ताप्लेजुङमा ३ सय ९९ जना, धनकुटामा २ सय २९ जना, भोजपुरमा ५ सय ९० जना, सङ्खुवासभामा ३ सय ५० जना, खोटाङमा ९ सय ४८ जना, इलाममा २ सय ९७ जना, मोरङमा ४ हजार ९ सय ९० जना, तेर्हथुममा २ सय ६३ जना, ओखलढुङ्गामा ३ सय ७ जना, झापा २ हजार ६ सय २२ जना, उदयपुरमा ३ सय ८४ जना, सोलुखुम्बुमा १ सय ९५ जना र सुनसरीमा ४ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नेपालले नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् १९६६ लाई विक्रम सम्वत ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ । नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गराएका र १८ वर्ष उमेर पूरा भएका हरेक नागरिकले निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ ।

इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ०८२ असोज १० गतेदेखि कात्तिक १९ गतेसम्मको अवधिमा  ३ सय ९९ जनाले मतदाता नामावली दर्ता गराएका छन् । जसमा २ सय १७ जाम पुरूष र १ सय ८२ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी वान्दवराज दुलालले बताउनु भयो । सो अवधिमा २८ जना पुरूष र ६ जना महिला गरी ३३ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन । सो अवधिमा ६७ जना पुरूष र ८१ जना महिला गरी १ सय ४८ जनाले एक स्थानबाट अर्को स्थानमा मतदाता नामावली सारेका छन् । ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन । साथै जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारिस कात्तिक मसान्त अगावै हुने भएको छ । कात्तिक २७ वा २८ गते बैठक बसी मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने विषयमा निर्वाचन आयोगमा सिफारिस गर्ने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको जिल्लास्तरीय समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल तथा केन्द्र थपका लागि प्राप्त हुन आएका वडागत सिफारिसहरुको प्रारम्भिक अध्ययन गर्दै मतदानस्थल तथा केन्द्र थपका लागि आयोगले तयार परेको अनुसूची अनुसारका विवरण पूर्ण बनाई सिफारिस गर्न वडास्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । निमित्त निर्वाचन अधिकारी दुलालका अनुसार हालसम्म मैवाखोला गाउँपालिका– ६ को वडा, फक्ताङलुङ गाउँपालिका–२ र ६ वडा, आठराई त्रिवेणी गाउँपालिकाका–२ वडा र मिक्वाखोला गाउँपालिका–४ को वडाबाट सिफारिस प्राप्त हुन आएका छन् । प्राप्त हुन आएका सिफारिसहरू मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने प्रक्रियाका लागि निर्वाचन आयोगले तयार गरेको अनुसूची अनुसारको पूर्ण विवरणमा आधारित भएर आएका छन् या छैनन् भन्ने बारेमा अध्ययन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल स्थानान्तरणका लागि फुङलिङ नगरपालिका–२ को याङलीजुङ आधारभूत विद्यालयको प्राङ्गण साँघुरो भएका कारण २ न. वडा कार्यालय र नगरपालिका कै  ५ न. वडामा रहेको सामुदायिक भवन सिटी हल मतदान स्थलपुन निर्माणका लागि भत्काइएकोले उद्योग वाणिज्य संघको हलमा सार्ने गरि सिफारिस गरिएको छ ।

इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ०८२ असोज १० गतेदेखि कात्तिक २० गतेसम्मको अवधिमा २ सय २९ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा १ सय १५ जना पुरूष र ९७ जना महिलाले जिल्लामा र १० जना पुरूष र सात जना गरी १७ जनाले वाहृय दर्ता गराएको निमित्त जिल्ला निर्वाचन अधिकारी सुरज श्रेष्ठले बताउनु भयो । सो अवधिमा १९ जनाले त्रुटि सच्याउने, १ सय २ जनाले ठेगाना सार्ने र एक जनाको नागरिकताको बदर गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनु भयो ।

इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार ०८२ फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ०८२ असोज १० गतेदेखि कात्तिक २० गतेसम्मको अवधिमा ५ सय ९० जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्लाका निर्वाचन कार्यालयका प्रमुख केशवकुमार शङ्करले ३ सय जना पुरूष र २ जना ९० जना महिलाले गरी ५ सय ९० जनाले नाम दर्ता गराएको बताउनु भयो ।

इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ०८२ असोज १० गतेदेखि कात्तिक १९ गतेसम्म १ सय ५८ जना महिला र १ सय ९२ जना पुरूष गरी ३ सय ५० जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र राईका अनुसार नयाँ नाम दर्ता गराउनेमा अधिकांश युवा छन् । ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको छ । जिल्लाका १ सय ८ ओटा मतदानस्थलमध्ये सुरक्षा सम्वेदनशीलताको हिसाबले आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो । १ सय ८ ओटा मतदानस्थल स्थलमध्ये ८२ ओटा मतदानस्थल सम्वेदनशील, १८ ओटा मतदानस्थल सामान्य र आठ ओटा मतदानस्थल अति सम्वेदनशील सूचीमा वर्गीकरण गरिएको छ । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र राईले बताउनु भयो । जिल्ला १० ओटा स्थानीय तहमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुरा भएका ६१ हजार ६ जना पुरूष र ५६ हजार महिला गरी १ लाख १७ हजार ८ सय १३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इन्सेक खोटाङ प्रतिनिधि राजकुमार भट्टराईका अनुसार जिल्लामा असोज १० गतेदेखि सुरूआत भएको फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ९० प्रतिशत युवा छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा ०८२ कात्तिक २० गतेसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालयमा कार्यालय खुल्ला रहेका दिन २० जना भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालय प्रमुख रविन मगरले बताउनु भयो । असोज १० देखि कात्तिक २० गतेसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएकामा अधिकांश युवा रहेको प्रमुख मगले बताउनु भयो । जिल्लाका दश स्थानीय तहमध्ये सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । सबै भन्दा कम बराहपोखरी गाउँपालिकामा कात्तिक २० गतेसम्म चार जनाले मात्र नाम दर्ता गराएको कार्यालय प्रमुख मगरले बताउनु भयो । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न व्यवस्था मिलाएको छ । निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्ने मतदाताको सङ्ख्या १ लाख ४४ हजार ४ सय २९ जना छ । हाल सङ्कलन भइरहेको मतदाता नामवलीमा नाम दर्ता कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।

इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार ०८२ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा नयाँ मतदाताका सङ्ख्या धमाधम थपिँदै गएका छन । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताउनु भयो । कार्यालयको तथ्याङ्क अनुसार ०८२ असोज ८ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सङ्ख्या जिल्लामा २ लाख २७ हजार तीन छ । यीमध्ये पुरुष मतदाताको सङ्ख्या १ लाख १७ हजार ४३ जना र १ लाख ९ हजार ९ सय ५८ जना महिलाको छ । असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको सूचना अधिकारी लिम्बूले बताउनु भयो । नयाँ मतदाताका रुपमा कात्तिक १६ गतेसम्म २ सय ९७ जनाले फोटो खिचाएका छन । यीमध्ये नेपालको नागरिकता बनाएर फोटो खिचाउन आएका कोही १६ वर्ष उमेर पुुगेका मात्र पनि छन भने कोही १८ वर्ष पूरा भएका छन । ‘अब फागुन २० गतेसम्म जो–जो १८ वर्ष पूरा गर्छन उनीहरुको नाम माथिबाटै मतदाता नामावलीमा आउँछ ।’ लिम्बूले भन्नुभयो ‘अझै आगामी कार्तिक ३० गतेसम्म फोटो खिचाउने समय बाँकी छ ।’ कात्तिक १६ गतेसम्म अहिलेसम्म १ सय १९ जना मतदाताको नामसारीको काम भएको छ । ६६ जना मृत्यु भएका मतदाताको नाम भने मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार सरकारले ०८२ फागुन २१ गतेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेपश्चात जिल्लामा ०८२ असोज १० गतेदेखि सुरूआत भएको मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या उत्साहजनक पाइएको छ । कात्तिक १९ गतेसम्म जिल्लामा ४ हजार ९ सय ९० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा महिला २ हजार ९९ जना र पुरूष २ हजार ८ सय ९१ जना छन् । फोटोको सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेमा १८ वर्षदेखि २५ वर्ष उमेर समूहका बढी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गराँगाईँले बताउनु भयो । प्रमुख गुराँगाईँका अनुसार अहिले जिल्लामा दैनिक ३ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गराउँदै आएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङ कात्तिक १६ गतेसम्मको अवधि कूल ७ लाख ४१ हजार ५ सय ५५ जनाले नाम दर्ता गराएका छन् । हाल सबैतिर अनलाइन प्रक्रियामार्फत फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य भइरहेकाले सर्भरमा समस्या आउँदा नाम दर्ता गराउनेहरुरूले हैरानी खेप्नु परेको छ । जिल्लामा प्रनिधिसभा निर्वाचनका लागि ६ ओटा निर्वाचन क्षेत्र छन् ।

इन्सेक तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा असोज १० गतेदेखि सुरूआत भएको मतदाता नामावली दर्तामा कात्तिक १६ गतेसम्म १ सय ११ जना महिला र १ सय ५२ जना पुरूष गरी कूल २ सय ६३ जनाले नाम दर्ता गराएका छन् । सो अवधिमा १४ जना मतदाताको त्रुटि सच्याउनुका साथै दुई जना मतदाताको विवरण फरक परेकाले मतदाता नामावलीबाट नाम हटाइएको छ । सो अवधिमा ९८ जना मतदाता मतदाताले मतदानस्थल परिर्वतन गरेका छन् । मतदानस्थल परिर्वतनका लागि १० जनाले उजुरी दिएपनि ति सबै उजुरी विवरण फरक परेकाले रद्द गरिएको निमित्त जिल्ला निर्वाचन अधिकारी दीपक भण्डारीले बताउनु भयो । निर्वाचन अधिकारी भण्डारीका अनुसार जिल्लामा ०८२ कात्तिक १६ गतेसम्मको अवधिमा १८ वर्ष उमेर पुरा भएका मतदाताको सङ्ख्या ७१ हजार २ सय ४७ जना छ । जसमा ३४ हजार ७ सय ४३ जना महिला र ३६ हजार ५ सय ४ जना पुरूष छन् । प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५६ ओटा मतदानस्थल कायम गरिएका छन् ।

इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार ०८२ फागुन १९ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले निर्वाचन  आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ । कात्तिक समान्तसम्म सञ्चालन हुने नामावली दर्ताका क्रममा कात्तिक १९ गतेसम्म जिल्लामा ३ सय ७ जनाले नयाँ नामावली दर्ता गराएका छन । नामावली दर्ता गराउनेमा १ सय ८ जना महिला र १ सय ९२ जना पुरुष छन् । सोही अवधिमा अन्य जिल्लाका सात जनाले नामावली दर्ता गराएका छन । जसमा एक जना महिला र ६ जना पुरुष रहेको निमित्त निर्वाचन अधिकारी विदुरकुमार बस्नेतले बताउनु भयो । ०८१ चैत मसान्तसम्म जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख १८ हजार ३ सय ७६ थियो ।

इन्सेक झापा प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा २ हजार ६ सय २२ जना नयाँ मतदाता थपिएका छन । ती मतदाताले ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलो पटक मतको प्रयोग गर्न पाउने छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले जिल्लामा ०८२ असोज १० गतेदेखि सुरूआत भएको मतदाता नामावली सङ्कलनका क्रममा कात्तिक २ गतेसम्म २ हजार ६ सय २२ जनाले नाम दर्ता गराएको बताउनु भयो । जिल्लामा थपिएका मतदाता समेत गरी मतदाता संख्या ६ लाख ८२ हजार ९ सय ९३ जना पुगेको छ । यसअघि जिल्लामा ६ लाख ८० हजार ३ सय ७१ जना मतदाता थिए । कात्तिक मसान्तसम्म सञ्चालन हुने मतदाता नामावलीमा ८ हजार बढीले नाम दर्ता गराउने अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले एकै दिन ३ सय जना सम्मले मतदाता नामावलीमा नाम दर्ता गराएको र अधिकांश युवा रहेको जानकारी दिएको छ ।

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ०८२ कात्तिक १६ गतेसम्मको अवधिमा १ हजार ८ सय १२ जना महिला र २ हजार १ सय ८८ जना पुरूष गरी ४ हजार जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी कुमारी आर्चायले नयाँ नाम दर्ता गराउनेका अधिकांश युवा रहेको बताउनु भयो ।

इन्सेक सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा ०८२ असोज १० गतेदेखि कात्तिक १७ गतेसम्मको अवधिमा १ सय ९५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख नेत्र घिमिरेले १ सय ९५ जना मध्ये ९० जना पुरूष १ सय ५ जना महिला भएको बताउनु भयो । नामावली दर्ता गराउनेहरु मध्ये ९० प्रतिशत भन्दा धेरै जेनजी रहेको निमित्त प्रमुख घिमिरेले बताउनु भयो । जिल्लामा मतदानका स्थल १ सय २२ ओटा र मतदान केन्द्र १ सय ३५ ओटा छन् ।

इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ । जिल्लामा ०८२ असोज १० गतेदेखि सुरूआत भएको नयाँ नाम दर्तामा असोज २९ गतेसम्म ३ सय ८४ जना मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर रमेश यादवले १० देखि २९ असोजसम्ममा ३ सय ८४ जना नयाँ मतदाता थपिएको बताउनु भयो । नयाँ मतदाता नामावली बनाउन आउनेहरू अधिकांश जेनजी पुस्ताका छन् । जिल्लामा असोज २९ गतेसम्म १ लाख १७ हजार २ सय ७७ जना पुरुष र १ लाख १३ हजार ६ सय ८ जना गरी २ लाख ३० हजार ८ सय ८७ जना मतदाता छन् ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो