विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट कात्तिक २० गते फरार भएका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये प्रहरीले दुई जनालाई तत्कालै गिरफ्तार गरेको छ ।
वाल सुधारगृहको सुरक्षा ड्युटीमा रहेका प्रहरीलाई ०८२ कात्तिक २० गते धक्कामुक्की गरेर भागेका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये दुई जनालाई प्रहरीले तत्कालै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कवित कटुवालले बताउनु भयो ।
सुधार गृहमा राखिएकामध्ये नौ जना बिझ्याइँकर्ताको समूहले सुरक्षामा रहेका कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौका छोपेर फरार भएको एसपी कटुवालले बताउनु भयो । ड्युटीमा रहेका तीन जना सादा पोसाकका प्रहरीलाई धक्कामुक्का गरेर उनीहरु फरार भएको एसपी कटुवालको भनाइ छ ।
फरार भएका नौ जना मध्ये दुई जनालाई तत्कालै गरेपनि अझै सात जना ‘बाल बिझ्याइँकर्ता’ फरार छन् ।
बाल सुधारगृहबाट फरार भएकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले सुरक्षामा रहेका प्रहरीलाई काबुमा राखेर फरार भएको एसपी कटुवालले बताउनु भयो ।
फरार बिझ्याइँकर्ताका घरपरिवारलाई खबर गरिसकेको र घर पुगेमा प्रहरीलाई जानकारी दिन भनिएको सूचना दिइएको बाल सुधारगृह प्रशासनले जनाएको छ ।
सुधार गृहमा रहेका प्रहरीहरू पोसाक र हतियारबिनै ड्युटी गर्नुपर्ने अवस्था रहेको र सुधारगृहभित्र १८ वर्ष माथिका राखिने गरेका कारण उनीहरुले सुरक्षाकर्मीलाई नै काबुमा राख्न सक्ने अवस्था रहेको छ ।
फरार भएकाहरुको खोजी थालिएको प्रहरीले जनाएको छ । यसअघि जेनजी आन्दोलनका क्रममा सुधारगृहमा राखिएका २ सय ५५ जनामध्ये ०८२ भदौ २४ गते २ सय ६ जना फरार भएका थिए ।
फरार भएकामध्ये १ सय ९१ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जेनजी आन्दोलनमा फरार भएका १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।