कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ ।
पुस माघ जाडो विदा हुने गर्दछ । राज्यले बालबालिकाका लागि निशुल्क शिक्षा प्राप्त हुने हकको संवैधानिक व्यवस्था गरेको भएपनि तर हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको महादेव आधारभुत विद्यालयका विद्यार्थीहरूले गुनासो गरे ।
विद्यालयमा विषयगत शिक्षक नहुनु, भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु र विद्यालयमा आएका शिक्षकले नियमित नपढाउनाले आधा किताब पढेर परीक्षा दिनु परेको कक्षा ७ मा अध्ययनरत छात्र शेरबहादुर रोकायाले बताए ।
‘गणित, सामाजिक, नेपाली र कम्प्युटर जस्ता अनिवार्य विषयहरूको पाठ्यक्रम वर्षभरी सम्पन्न हुन सकेनन् ।’–उनले भने–‘तर पनि विद्यार्थीलाई परीक्षा दिनुपर्ने बाध्यता नै भयो ।’
विद्यालयमा कम्प्यूटर छैन विषय अनिवार्य
विद्यालयमा कम्प्यूटर छैन तर राज्यले कम्प्यूटर विषयलाई अनिवार्य बनाएको छ । खाली सैद्धान्तिक रूपमा पढाएको र चित्र देखाएको भरमा परीक्षा लिनु परेको शिक्षक मदनप्रसाद उपाध्यायले बताए ।
उनले भने–‘कम्प्युटरको माउस, डेस्कटप र मोनिटर यो हो भनेर चित्रमा मात्र देखाउने गरिएको छ । तर, विद्यालयमा कम्प्यूटर नभएका कारण प्रयोगात्मक शिक्षा दिन सकिएन ।’ चित्रमा देखेकै करण कम्प्यूटर विषयको परीक्षा दिनु परेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष कृष्णबहादुर रोकायाका अनुसार राज्यले आधारभुत तहमा कम्प्यूटर विषय अनिवार्य बनाएको छ तर कम्प्यूटरको व्यवस्थापन नगर्दा समस्या भएको छ ।
उनले भने–‘हामी शिक्षक अभिभाबक सबै जुटेर सरोकारवाला निकायमा पहल गरेर कम्प्यूटरको व्यवस्थापन गर्छौँ ।’