जिल्ला अस्पताल बाजुरामा विगत एक महिना देखि जिवन जलको अभाव भएको छ । अधिल्लो आर्थिक वर्षमा खरिद गरेको जिवनजल सकिएको र नयाँ खरिद प्रक्रियामा ढिलाई भएकाले जिल्ला अस्पतालमा जिवनजलको अभाव भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताउनु भयो ।
जिवनजल अभाव हुँदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजी मेडिकलबाट किनेर खानुपर्ने बाध्यता रहेको छ । अस्पतालमा ९८ प्रकारका औषधी निःशुल्क औषधी अन्तर्गत जिवनजल अति आवश्यक अन्तर्गत पर्ने गर्छ । तर महिनौसम्म पनि जिवनजल अभाव हुँदा अस्पताल र सम्बन्धित निकाए बेखबर बनेको खप्तड छेडेदग गाउँपालिका– ३ का स्थानीय टेकबहादुर बुढाले बताउनु भयो ।
जिवनजल झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने गरेको छ । झाडापखाला तथा शरीरमा जलवियोजन भएको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल नपाउँदा बिरामी समस्यामा परेको बडिमालिका नगरपालिका– ८ का स्थानीय सन्तोष बिकले बताउनु भयो । अस्पतालमा दैनिक १ सय ८० देखि २ सयसम्म बिरामी आउने गरेका छन् । त्यसमध्ये १२ देखि १८ जनालाई जिवनजल आवश्यक पर्छ, तर एक महिना देखि अभाब भएको सूचना अधिकारी गिरीले बताउनु भयो ।
यो आर्थिक वर्षको औषधी खरिद प्रक्रिया अघि बढिसकेको छ । अस्पतालमा जिवनजल आउन अझै एक महिना जति लाग्ने अस्पतालले जनाएको छ । एकातिर औषधि खरिदका लागि बजेट पर्याप्त छैन्, यो आर्थिक वर्ष औषधी खरिदका लागि २५ लाख रुपियाँ मात्र बजेट रहेको अस्पतालले जनाएको छ ।
पदमबहादुर सिंह