बाँकेको राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँमा रिपोर्टिङको क्रममा ०८२ कात्तिक ७ गते नेपाल पत्रकार महासंघ बाँके शाखा, प्रेस सेन्टर नेपाल बाँके, प्रेस यूनियन बाँकेका साधारण सदस्य तथा कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि भएको कुटपिट र दुव्र्यवहार घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस सेन्टर नेपाल बाँके, प्रेस यूनियन बाँके, नेपाल निजामती कर्मचारी संगठन बाँके, नेपाल निजामती कर्मचारी यूनियन बाँके, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल बाँकेले कात्तिक ८ गते प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा बाँके राष्ट्रिय निकुन्जमा रेन्जर पदमा कार्यरत जयहरि धिताल र पत्रकार शाहीमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति घोर निन्दा र भत्र्सना गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादु खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको विषयमा समाचार संकलन गर्न गएको बेला राप्तीसोनारी गाउँपालिका–९ बच्चुपुर्वाका स्थानीयहरुले आक्रोस पोख्दै बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका थिए । धिताललाई कुटपिट गरिरहेको भिडियो बनाउने क्रममा शाहीलाई पत्रकारको परिचयपत्र देखाउदा पनि स्थानीयहरुले कुटपिट गरेका थिए । उक्त समूहले आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल खोसेर भिडिओ डिलिट गरिदिएको शाहीले बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीले रेन्जर जयहरि धिताल माथि स्थानीयहरुबाट भैरहेको कुटपिट र दुव्र्यवहारको घटना समेतको रिपोर्टिंग गर्ने क्रममा फोटो र भिडियो किन खिचेको ? भन्दै पत्रकार शाही माथि समेत आक्रमण र कुटपिट भएको घटनाप्रति समेत हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनताको सेवामा कार्यस्थलमा कामकाजमा खटिएको एक राष्ट्र सेवक र जनतालाई सुसुचित गर्ने जिम्मेवारी बोकेको राज्यको चौथो अंगको रुपमा रहेको एक स्वतन्त्र पत्रकार माथिको यो आक्रमण र अराजक गतिविधिको हामी बाँके जिल्लास्थित निजामती सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरु घोर निन्दा र भत्र्सना गर्दै दोषी उपर कारबाहीको लागि जोडदार माग गर्दछौं ।’
नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देविलाल चौलागाईले दण्डहीनताको अन्त्य र कार्यस्थलमा खटिएका कर्मचारीको सुरक्षाको सुनिश्चिता गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रशासनिक क्षेत्रमा बढ्दै गइरहेको आक्रमण र अराजकताको अन्त्य र कानुनी राज्यको प्रत्याभूतिको लागि सरकारले कसैसँग सम्झौता नगरोस् विज्ञप्तिमा भनिएको छ ।
ध्रुबराज शर्मा