नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा ०८२ असोज ३१ गते आयोजित पत्रकार सम्मेलनमा सेनाले ती हतियार र कैदीबन्दी फिर्ता गर्नका लागि साझा प्रयास गर्न सबै तह र तप्कालाई हार्दिक अपिल गरेको छ । नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा १५ हजार ५ सय ८८ कैदीबन्दी तथा थुनुवा फरार भएकामा हालसम्म ८ हजार ७ सय ९९ फिर्ता भइसकेका छन् । अरु कैदी तथा थुनुवा अझै फरार छन् । सुरक्षा निकायको लुटिएका ९ सय ७८ नालमध्ये हालसम्म ५ सय ८६ नाल हतियार फिर्ता भएका छन् । अरु अझै बेपत्ता अवस्थामा छ ।
उपत्यकाभित्र मात्रै नेपाली सेनाले प्राप्त गरेका हतियारमध्ये २ सय ७४ नाल नेपाल प्रहरी र १२ नाल सशस्त्र प्रहरी बललाई बुझाइसकेको जानकारी दिएको छ । जेनजी आन्दोलनका क्रममा ४ सय ८४ स्थानमा भएको प्रदर्शनीमा २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको थियो । त्यसक्रममा ६ सय ८८ वटा सरकारी कार्यालयलगायत अन्य भौतिक संरचनामा तोडफोड र आगजनीबाट क्षति पुगेको थियो ।
पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख अनुपजङ्ग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सोका लागि सेनाले आफ्नो स्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनै पनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेका छौँ ।” जेनजी आन्दोलनपछिको अन्योलता, शङ्का–उपशङ्का, विभिन्न प्रश्नकाबीच सेनाले शान्ति सुरक्षा तथा अमनचयन कायमका लागि सुरक्षा अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन असल नियत र सही अभिप्रायसाथ कार्य गरेकाले ती प्रश्नका उत्तर आफैँ प्रष्ट हुँदै गइरहेको उपरथी थापाको भनाइ थियो । उहाँले भन्नुभयो, “आउँदा दिनमा राष्ट्रिय तहमा आधारभूत विषयमा निकासका उपायहरू पहिचान गर्न सम्पूर्ण विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आमनागरिकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राखी आआफ्नो भूमिकाबाट योगदान पुर्याउनुपर्ने आजको आवश्यकता हो ।” राष्ट्रमा असहज परिस्थिति आइपर्दा सबै एकजुट हुने नेपालीको संस्कार भएको स्मरण गराउँदै उपरथी थापाले राष्ट्रिय एकता नै सङ्कट, विपद् र विषम परिस्थितिमा आफ्नो त्यो संस्कारलाई जगेर्ना गर्दै राष्ट्रिय हितको संरक्षणमा हातेमालो गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “यी सबै परिस्थितिमा नेपाली सेना राष्ट्रिय हित र जनरक्षाका लागि सदातयार थियो, छ र रहिरहनेछ ।”
रासस