INSEC Online

📅 २०८३ जेष्ठ २१

कक्षाकोठा अभावमा खुला आकाशमा पढाइ विद्यार्थीको पढाई प्रभावित

बुढीगङ्गा नगरपालिका १० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव हुंदा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् ।

विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् ।

विद्यालयमा कक्षा १० सम्मको पढाइ हुने गरेको छ । विद्यालयमा ५ सय ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा भवनसँगै बस्ने बेञ्च, डेक्सको पनि अभाव रहेको विद्यालय प्रधानाध्यापक पूर्णबहादुर शाहीले बताए ।

चार ओटा कक्षाका विद्यार्थीलाई खुला चौरमा पढाउनुपर्ने बाध्यता भएको शिक्ष भरत रावतले बताए । चिसो मौसममा  खुला आकाशमा पढाउन् पर्ने चिसोले विद्यार्थीहरू अनुपस्थित हुने गरेको रावतले बताए ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको ३६ लाखमा निर्माण गरेको भवनको पहिलो किस्ता बाहेक बाँकी रकम नआएपछि ठेकेदारले ताला लगाएर बन्द राखेको छ ।

निर्माण खर्च नपाएसम्म भवन हस्तान्तरण नगर्ने अडानमा साथ त्रिवेणी नगरपालिका–३ पुर्वुताका ठेकेदार खडक भण्डारी विद्यालयमा ताला लगाएर हाल भारत गएका छन् ।

कामदारदेखि अन्य सामग्रीको रकम तीर्न बाँकी रहेकाले लागत खर्च भुक्तानी नभएसम्म चारकोठे भवन विद्यालयलाई नदिने ठेकेदारको अडान छ ।

भवन २०७३ सालमा निर्माण सुरू गरिएको भए पनि हालसम्म हस्तान्तरण हुन सकेको छैन । ठेकेदारले हालसम्म ४ लाख मात्र लिएको र बाँकी रकम मन्त्रालय नै नरहेपछि नआएको स्थानीय शङ्कर रावतले बताए ।

भवन सञ्चालन गर्नेबारे स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकाय पनि बेखबर बनेको स्थानीय प्रेम रावतले बताए ।

भवन भएरै पनि खुला चौरमा पढाउनुपर्ने बाध्यता नगरपालिकाले नबुझेको सेवा क्षेत्रका अभिभावकको गुनासो छ ।

बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले भवन निर्माण प्रक्रियाका बारेमा आफूलाई कसैले खबर नगरेको बताए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ३६ लाख रुपियाँमा भवन निर्माण गर्नुपर्ने भए पनि ठेक्का प्रक्रियामा भएकाले १२ लाख रुपियाँ निकासा भएको नगरपालिकाले जनाएको छ ।

निर्माणाधीन भवनका लागि नगरपालिकाले बजेट विनियोजन गर्न लागत अनुमान नभएका कारण कुनै आधार नभएको नगर प्रमुख शाहको भनाई छ । समुदायले बनाउनुपर्ने भवन ठेक्का प्रक्रियामा दिँदा झन् समस्या आएको उहाँको दावी रहेको छ ।

अन्य

भिडियो