INSEC Online

📅 २०८३ जेष्ठ २१

४ हजार नगरवासी सामाजिक सुरक्षा भत्ताबाट बञ्चित

राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा ४ हजार २ सय नगरवासी सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित बनेका छन् ।

नगरपालिकामा दसैँ अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत नभएका कारण गत साउनदेखिकै विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अपाङगता भएकालगायतले सामाजिक सुरक्षा भत्ता र औषधि उपचार रकम पाउन सकेका छैनन् ।

लौरो टेकेर सकि–नसकी नगरपालिका कार्यालय पुगेका राजविराज नपा–२ का ८३ वर्षीय लक्ष्मीलाल देवले डेढ महिनादेखि नगरपालिका कार्यालय धाएपनि आश्वासन लिँदै रित्तो हात फर्कनु परेको बताए ।

कात्तिक महिनामै वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म दिन नसकिएको स्वीकार्दै नगरपालिकाका सूचना अधिकारी प्रफुल्लकुमार श्रेष्ठले भने–‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता वितरणलगायतका आर्थिक कारोवार गर्न सकिएको छैन ।’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की दसैँअघि नै विदामा गएपछि अहिलेसम्म फर्केका छैनन् ।

लामो समयसम्म उनको स्थानमा अर्का अधिकृत पनि नपठाइएका कारण सामाजिक सुरक्षा भत्ता वितरणलगायत आर्थिक कारोबारमा अवरोध भएको श्रेष्ठले स्पष्ट पारे ।

हालै मन्त्रालयले नगरपालिकाका लेखापाल राजेशकुमार राजलाई निमित्त प्रशासकिय अधिकृतको जिम्मा दिएकाले एक हप्ताभित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी प्रकृया सुरु गरिएको श्रेष्ठले बताए ।

अन्य

भिडियो