सुख्खा मौसम सुरू भएसँगै पर्याप्त मात्रामा पानी नआउँदा कारागारमा रहेका कैदीबन्दीलाई पानी अभाव भएको छ ।
१ सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा २ सय ४४ जना कैदीबन्दी रहेको कारागारका प्रमुख भक्तबहादर खड्काले बताए ।
प्रमुख खड्काले सुख्खा मौसम सुरू भएसँगै पानी एउटा पाइपमा मात्र आउने गरेका कारण कारागारमा पानीको समस्या देखिएको बताए ।
उनले सबै भन्दा बढी समस्या कपडा धुन र शौचालयको प्रयोगमा पानीका समस्या भएको बताए । पानी अभावका कारण नुहाउन र कपडा सरसफाईमा समस्या हुँदा छालाजन्य रोगको प्रकोप देखिएको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।
कारागार प्रशासनले पानी अभावका कारण समस्या भएपनि मुहानबाट पानी कम आएका कारण तत्काल समस्या समाधानका लागि कदम चाल्न नसकिएको जनाएको छ ।
आगामी दिनमा पानीको अभाव हुन नदिन पानी ट्याङ्करको व्यवस्था गरिने कारागार प्रशासनको भनाई छ ।
इलाम कारागारमा सवारी साधन अभावले बन्दीहरूलाई अदालत लान र जटिल स्वास्थ्य समस्या आए तत्काल अस्पताल लान पनि समस्या भएको कारागार प्रमुख खड्काको भनाई छ । कारागारमा अहिले १६ जना महिला र २ सय २८ जना पुरूष कैदीबन्दी रहेका छन् ।