INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार जाजरकोटको क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

१५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ५९ जना कैदीबन्दी रहेको कारागार प्रमुख तेजविक्रम शाहले बताए ।

शाहका अनुसार महिला र पुरुषका लागि छुट्टै भवन नभएको र एउटै भवनमा रहेका दुई ओटा हलमध्ये एउटामा महिला र अर्कोमा पुरुषलाई बसाइँदै आएको छ ।

कारागारमा एक जना महिला र ५८ जना पुरुष कैदीबन्दी रहेका छन् । क्षमता भन्दा चौब्बर कैदी बन्दी रहेकाले पालो लगाएर सुत्ने गरेको कैदीबन्दीले बताए ।

कारागारमा महिला तथा पुरुषका लागि एक/एक ओटा शौचालय छन् । क्षमताभन्दा चौब्वर कैदीबन्दी हुँदा शौचालयको प्रयोगमा समेत समस्या भएको कैदीबन्दीको गुनासो रहेको छ ।

कारागारमा ४४ जना पुरूष कैदी छन् भने १ जना महिला र १४ जना पुरुष थुनुवा रहेका छन् । पछिल्लो चार/पाँच महिनामा कैदी तथा थुनुवाको सङ्ख्या बढेको र विगतमा २०/२२ जना कैदी र दुई/तीन जना थुनुवा हुने गरेको कारागारमा अहिले त्यो सङ्ख्या बढेको प्रमुख शाहले बताए ।

२०४५ सालमा निर्माण गरिएको १५ जनाको क्षमताको कारागार जीर्ण अवस्थामा रहेको छ । पानी परेपछि कारागार भवनको छतबाट पानी चुहिने र भवन चर्किएको अवस्था रहेको छ ।

जीर्ण भवनमा कुनै पनि समयमा भत्कन सक्ने कारागार प्रशासनले जनाएको छ । कारागारका लागि नयाँ भवन निर्माण भएको भएपनि निर्माण कार्य सम्पन्न नभएकाले समस्या भएको प्रमुख शाहले बताए ।

पछिल्लो समय नेपाल प्रहरीको सक्रियता बढेपछि गिरफ्तारीमा पर्नेको सङ्ख्या समेत बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रबहादुर सिंहले बताए ।

अन्य

भिडियो