INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य शाखामा राखिएका औषधी जलेर नष्ट भएपछि सेवाग्राही मर्कामा

प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते गोदावरी नगरपालिकामा गरिएको आगजनीका कारण स्वास्थ्य शाखामा राखिएका सम्पूर्ण औषधी जलेर नष्ट भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखामा राखिएका निःशुल्क वितरण गरिने ३७ प्रकारका औषधी जलेर नष्ट हुँदा वडास्तरीय आधाभूत स्वास्थ्य केन्द्रमा औषधी अभाव भएपछि स्थानीय सेवाग्राही मर्कामा परेका हुन् ।

गोदावरी नगरपालिका–८ फकलपुरका यमबहादुर चौधरीले वडास्थित स्वास्थ्य चौकीबाट निःशुल्क पाइने  सुगर र प्रेसरको औषधी दुई हप्तादेखि नपाउदा निःशुल्क पाइने औषधी समेत महँगोमा किनेर खानु पर्ने बाध्यता भएको गुनासो गर्नु भयो ।

क्षयरोगबाट पीडित हुनुभएका सुदर्शन चौधरीले वडा नजिकै रहेको स्वास्थ्य चौकीमा गएर दैनिक खाने क्षयरोगको औषधी स्वास्थ्य चौकीमा दुई हप्तादेखि अभाव भएपछि सेती प्रादेशिक अस्पताल, धनगढीमा दैनिक गएर खानु पर्ने हुँदा समय र पैसाको खर्च बढी हुने गरेको गुनासो गर्नु भयो ।

स्वास्थ्य चौकीमा निःशुल्क रुपमा पाइने औषधी दुई हप्तादेखि अभाव हुँदा सिटामोल समेत स्थानीय सेवाग्राहीहरुले किनेर खानु पर्ने बाध्यता सृजना भएको महिला स्वास्थ्य स्वयम सेविका चित्रा नेपाली बताउनु भयो ।

नगरपालिकाको स्वास्थ्य शाखामा आगजनी भएपछि सबै औषधी जलेर नष्ट हुँदा औषधी र परिवार नियोजनका साधनहरुको समेत अभाव भएको स्वास्थ्य स्वयमसेविका नेपालीको भनाइ छ ।

युवापुस्ताको भदौ २४ गते भएको आन्दोलनका क्रममा गोदावरी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी गरिएपछि स्वास्थ्य शाखामा मौजाद गरी राखिएको निःशुल्क वितरण गरिने सबै औधषी जलेर नष्ट  भएपछि स्वास्थ्य चौकीमा औषधी अभाव भएको गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले बताउनु भयो ।

नगरपालिकाबाट स्वास्थ्य चौकीमा पठाउनु पर्ने औषधी जलेर नष्ट हुँदा स्वास्थ्य चौकीबाट निःशुल्क वितरण हुने सुगर, प्रेसर रोगको औषधी, गर्भवती महिलाको लागि आइरन चक्की, परिवार नियोजनका साधन, क्षयरोगको औषधी लगायतका ३७ प्रकारका औषधीको अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालयसँग सामन्वय गरी औषधी उपलब्ध गराउन आग्रह गरेको उहाँको भनाइ छ ।

मैनामोती चौधरी

अन्य

भिडियो