कटारी नगरपालिका-८ स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा पार्किङ गरी राखिएका दुई ओटा स्काभेटर र तेलको एउटा ट्याङ्करमा अज्ञात पक्षले पुस ७ गते राति आगजनी गरेको छ ।
खानी उत्खनन्मा प्रयोगका लागि राखिएका स्काभेटर र उद्योगलाई चाहिने तेल ओसार-पसारका लागि राखिएको ६ हजार लिटरको क्षमता भएको ट्याङ्करमा अज्ञात पक्षले आगजनी गरेको हो ।
आगजनीको कारण र आगजनी गर्ने व्यक्ति/समूहको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर ध्रुवकुमार श्रेष्ठले बताए । उनले दोषीहरूको खोजी भइरहेको बताए ।
आगजनीबाट दुइ ओटै स्काभेटर र ट्याङ्करमा पूर्ण रूपमा क्षति भएको उद्योगको चुनढुङ्गा उत्खनन् गरी उद्योगसम्म ढुवानीको जिम्मा लिएको सिद्धिचरण मल्टिपर्पजका सञ्चालक दिनेश कटुवालले बताए ।