जनकपुरको रामसागर रामस्वरुप बहुमूखी क्याम्पस (राराब) का प्रमुख विजयलाल दासलाई राष्ट्रिय जनता पार्टी निकटका विद्यार्थीहरूले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
क्याम्पसको अवस्था धारासायी भएपछि पटकपटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै पुस १ गते दिउँसो विद्यार्थीहरूले दासलाई कार्यकक्षमै मोसो दलेका हुन् ।
राजपा नेपाल निकट विद्यार्थी सङ्गठन राष्ट्रिय विद्यार्थी सङ्घको अगुवाईमा विद्यार्थीहरूले पौने २ बजे कार्यकक्षमै पसेर मोसे दलेको सङ्घका केन्द्रिय महासचिव रञ्जित निष्पक्षले बताए ।
उनका अनुसार मोसो दलेपश्चात विद्यार्थीहरूले दिउँसो पौने ३ बजेसम्म अर्थात १ घण्टा प्रमुख दासलाई कार्यकक्ष भित्रै थुनेका थिए ।
क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षा कोठामा बिजुलीबत्ती तथा झ्याल ढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे माग सहित राष्ट्रिय विद्यार्थी सङ्घले क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।
तर, ज्ञापन पत्र पश्चात समेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै बाध्य भएर कालोमोसो दलेको विद्यार्थी सङ्घले जनाएको छ ।
यसैबिच रामस्वरुप रामसागर बहुमूखी क्याम्पसका प्रमुख डा. विजयलाल दासमाथि मोसो दलेको विषयमा समाचार सङ्कलन गर्न पुगेका जनता टेलिभिजनका जनकपुर सम्वाददाता प्रमोदकुमार साह रङ्गिलेलाई प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
समाचार स्कलनका लागि गएका बेला ‘म पत्रकार हुँ’ भन्दा पनि बेवास्ता गरेर हातपात गरेको पत्रकार साहको आरोप छ । हातपात हुँदा पत्रकार साहको स्टकोट समेत च्यातिएको छ ।
जनकपुरका सञ्चाकर्मीद्वारा यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी तथा डिएसपीको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले डिएसपी दिपेन्द्र शाहीलाई यसबारे गम्भीरतापूर्वक बुझ्नका लागि निर्देशन दिएका छन् ।