राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको आयोजना र मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशको सहकार्यमा ०८२ असोज १ गते जनकपुरधाममा शान्ति र्यालीको आयोजना गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरु सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गरी मानव अधिकार संरक्षण र सम्मान गरिनुपर्ने उद्देश्यका साथ रमानन्द चोकबाट सुरु गरिएको शान्ति र्याली बाह्र विघहा, जानकी चोक हुँदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभाको सञ्चालन गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक तथा मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशका अध्यक्ष राजु पासवानले मानव अधिकार, शान्ति र न्यायको पक्षमा सहकार्य गर्दै सबै पक्ष अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । संयोजक पासवानले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
त्यसैगरी कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख तथा सहचिव बुद्धनारायण साहनीले मानव जीवनको मूल्य र अधिकारको संरक्षणका लागि सबै तह प्रतिवद्ध हुनुपर्ने बताउनु भयो ।
कोण सभा पश्चात शान्ति ¥यालीमा सहभागी सबै जनाले जनक चोकमा दीप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, महिला मानव अधिकार रक्षक सञ्जाल, नागरिक समाज र मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

