गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना अधिकारी कृष्ण बरालले भने-‘प्रमाण बुझने र बकपत्र लिने काम सकियो । अन्तिम पेशी ९ गतेका लागि तोकिएको छ ।’
यस घटनाका वादी तथा प्रतिवादी तर्फका वकिलहरूले मुद्दा पेशी नहटाए तोकिएकै असोज ९ गते नै मुद्दा फैसला हुने उनको भनाइ छ ।
०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले ०६१ जेठ २४ गते कृष्णप्रसादको अपहरण गरी हत्या गरेको आरोप छ ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही माग गर्दै अनसनरत आमा गङ्गामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । जिल्ला अदालतका श्रेष्तेदार सहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग बयान लिएको थियो ।