राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले असोज ७ गते विराटनगरमा आयोजना गरेको आप्रवासी कामदारहरूको मानव अधिकार विषयक कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगारमा जाने वयक्तिहरू एजेण्टबाट ठगिने, कामको प्रकृतिको विषयमा थाहा नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको भन्दै राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
उनीहरूले वैदेशिक रोजगारीमा गएका व्यक्तिले पठाएको विप्रेषणले देश चलेको भनेपनि काम गर्दा मृत्यु भए महिनौंसम्म शव ल्याउन सम्म नपाउँदा राज्य नै यस विषयमा गम्भीर नदेखिएको बताएका हुन् ।

सरकारले सुरू गरेको फ्रि भिसा फ्रि टिकेटको प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गर्नसमेत सहभागीले माग गरेका छन् ।
कार्यक्रमका सहभागीले काम गर्न जाने देशको नियम कानुन थाहा नपाउँदा र कामको प्रकृतिबारे थाहा नपाई जाँदा दुर्घटना भएर ज्यान समेत गुमाउनु परिरहेकेा भन्दै गाउँमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, होर्डिङवोर्ड राख्नुपर्ने जस्ता कार्यक्रमलाई प्रभावकारी ढङ्गले लैजान सुझाव दिएका थिए ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले अन्तर्राष्ट्रिय श्रम अनुसारको ज्याला निर्धारण गर्नुपर्ने र आप्रवासी कामदार र तीनका परिवारका अधिकारका विषयमा राज्य गम्भीर बन्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी योगेन्द्रसिंह थापाले आप्रवासी कामदारलाई आपराधिक सञ्जालले झुक्याएर मानव बेचविखन र गैरकानुनी ढङ्गले कामको लागि खुला सिमानाको प्रयोग गरेर लाने गरेको पाइएकोले अनुगमन तीव्र पारिनुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत नवराज कार्कीले वैदेशिक रोजगारीमा जाँदा ठगिए उजुरी गर्न वैदेशिक रोजगार विभागमै जानुपर्ने हुँदा पहुँचको अभावका कारण पनि पीडितले न्याय पाउन नसकेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त निर्देशक झङ्कर रावलले राज्यले तत्काल आप्रवासी कामदार र तीनका परिवारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गर्नुपर्ने बताए ।
उनले आप्रवासी कामदारको सङ्ख्याको हिसावले देशभरमा मोरङ पाँचौं स्थानमा रहेकोले पनि मोरङमा रहेका सरकारी तथा गैरसरकारी दुवै पक्षबाट सहकार्यमा काम गर्न जरूरी रहेको बताए ।