INSEC Online

📅 २०८३ जेष्ठ २१

भोजपुरको ग्रामीण क्षेत्रमा दलितहरू अझै बालीप्रथाको मारमा !

गाउँभरीका विष्टको लुगाफाटा सिलाई दिए बापत चाडवाडमा दुई/चार माना अन्न र सिदाको भाग ज्याला लिँदै आएका घोडेटारका दलबहादुर परियारले अहिलेसम्म लुगा सिलाई मशिन जोड्न सकेका छैनन ।

३०/३५ घरमा काम गरेर ल्याएको भागले आफू र आफ्नो परिवारलाई महिनादिन खान नपुग्ने दलबहादुरले बताए ।

‘बालीघरेका कारण हामी कहिले उँभो नलाग्ने रहेछौँ, हामीलाई ज्यालामै काम गर्न फाइदा छ । तर, बाउबाजेदेखि नै यही गरी ल्याए आजकाल त वर्षभरी काम गरेर झोलामा लुगा लिएर भाग लिन गयो बिरालाले खायो भन्छन् । अँध्यारो मुख लगाएर रित्तो हात फर्कनु पर्छ ।’–दलबहादुरले भने । उद्योग तथा कलकारखानामा काम अनुसारको दामको धेरै कुरा भएपनि गाउँघरमा बालीप्रथा अझै कायम छ ।

photo20181130bhojpur (1)

‘वर्षभरी काम गरेबापत उनले एक घरबाट पाँच पाथी अन्न पाउँछन् । पाँच पाथी अन्नमा काम गर्नु पर्छ त्यो पनि भनेको बेला दिँदैनन कति रात त भोकै सुतेको छु ।’–उनले दुखेसो पोखे ।

हुनेखाने परिवारको लुगा सिलाएको र फलामका सामान बनाएको ज्याला नपाउने चलन अझैसम्म छँदैछ । कपडाको काम गर्नेहरू दसैँतिहार, माघे, साउने संक्रान्ति र बिहे, व्रतबन्धमा काम गर्ने घरबाट पाउने ‘खसीको पुच्छर’ र फलामको काम गर्नेहरू ‘खसीको गर्धन’मा चित्त बुझाइरहेका छन् ।

पछिल्लो जनगणना अनुसार भोजपुर जिल्लामा कुल जनसङ्ख्याको झण्डै ११ प्रतिशत दलित रहेको तथ्याङ्क छ । केही हुने र टाठाबाठा त सदरमुकाम र ग्रामीण बजारहरूमा पसल थापेर बसेका छन् ।

रानीवास गाविसकी दीलमाया रसाईली पनि ‘भागभुरो’ लिन जाने बेलामा विष्टहरूले टार्ने गरेको बताउँछिन् ।

दलितहरू आफैँलाई श्रमको ज्याला नपाएको पनि थाहा छ, तर उनीहरू न आफू बालीघरे प्रथाको विरोध गर्न सक्छन्, न त कसैले उनीहरूको पक्षमा बोली नै दिएको छ ।

दलितकै नारालाई अघि बढाएर सदनदेखि सत्तासम्म पुग्नेहरूले पनि दलितहरूलाई काम गरे अनुरूपको ज्याला दिलाउन पहल नगरेको भोजपुरका दलित अधिकारकर्मी विमल रणपहेँली टिप्पणी गर्छन् ।

दलित सीप विकास केन्द्र भोजपुरका अध्यक्ष त्रिलोचन लोहार आफ्नो हक अधिकारका लागि आफू स्वयम् जागरूक हुनुपर्ने बताउँछन् ।

‘बालिघरे सदियौँदेखि दलितहरूलाई गरिएको दास प्रथा हो । दलितहरूका वैज्ञानिक कामलाई पुरै अवमुल्यन गरिएको छ । काम अनुसारको दाम पाइरहेका छैनन् ।’–लोहारले बताए ।

अन्य

भिडियो