११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर ११ गते इश्मा गाउँपालिका–२ का ४९ वर्षीय प्रेमबहादुर कार्कीलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आठ वर्ष कैद सँगै ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले बताए ।
कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरित कसुर गरेकोले सोही महलको ३ (२) बमोजिम उक्त सजाय तोकिएको श्रेष्तेदार बस्यालले बताए ।
पीडित पक्षले ०७५ असार ११ गते आरोपितले बलात्कार गरेको भन्दै सोही दिन उजुरी दिएपछि प्रहरीले आरोपितलाई असार १२ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पतालमा गरिएको थियो ।