प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सक राकेशकुमार दासलाई लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले टेलिफोन गरी ज्यान लिने धम्की दिएको आरोपमा प्राथमिक स्वास्थ्य केन्द्र रामेछापले स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सक राकेशकुमार दासले ०७५ मङ्सिर ७ गते प्रेस विज्ञप्ति जारी गरी गाउँपालिका अध्यक्षले आफूलाई फोन गरी ज्यान लिने धम्की दिएको आरोप लगाएका छन् ।
जारी विज्ञप्तिमा अध्यक्ष खड्कामाथि कारबाहीको लागि मङ्सिर ४ गते व्यवस्थापन समितिको निर्णयसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, मन्थली नगरपालिका स्वास्थ्य सेवा विभाग, नेपाल मेडिकल एशोसिएशनमा अनुरोध गरेकोमा हालसम्म पनि दोषीमाथि कारबाही नभएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
साथै कारबाही नभए स्वास्थ्य संस्थाबाट दिइरहेको २४ घण्टे प्रसूति सेवा तथा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा अनिश्चितकालिन रूपमा बन्द गरिने चेतावनी दिइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ०७५ कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय रामेछापको पत्र अनुसार तामाकोसी गाउँपालिका–३ निवासी ३९ वर्षीय झलमायाँ श्रेष्ठको शवको पोष्टमार्टम् रिपोर्ट आपूmले भने अनुसार दिन वडा अध्यक्षले बारम्बार फोनबाट दबाब दिएको विज्ञप्तिमा उल्लेख छ ।
उनले भने अनुसार कार्य नगरेपछि गाउँपालिका अध्यक्षले ज्यान लिने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष खड्काले भने प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकको मिलेमतोमा गलत पोष्टमार्टम् रिपोर्ट दिएको आरोप लगाउँदै आएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको पोष्टमार्टम् रिपोर्टमा चित्त नबुझेकै कारण मृतकको शवको पुनःपोर्टमाार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको उनले बताए ।
झलमायाँ श्रेष्ठको शव कात्तिक १९ गते राति आफ्नै घरको धुरी बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनले आत्माहत्या गरेको हो ? वा हत्या गरेएर झुण्ड्याइएको हो ? भन्ने विषयमा विवाद छ ।