INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई हप्तादेखि जिल्ला अस्पतालमा शल्यक्रिया सेवा अवरूद्ध सेवाग्राही मर्कामा

जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्याक्रिया सेवा अवरूद्ध भएको छ । अस्पतालमा चिकित्सक अभावका कारण विगत दुई हप्तादेखि शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवति महिलालाई समस्या हुँदै आएको हो ।

यस अघि यहाँ कार्यरत डाक्टर प्रदिप शर्माले शल्यक्रिया सेवा दिँदै आएकोमा कात्तिक १४ गतेदेखि उनले समयअवधि सकिएको र नयाँ चिकित्सक पनि नभएकाले सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका २५ जना बिरामीलाई दाङ रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।

‘विगत दुई हप्ता यता अस्पतालमा सुत्केरी हुन आएकामध्ये पाँच जना शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई समेत दाङ रेफर गर्नु पर्‍यो ।’-डाक्टर बुढाले भने-‘अहिले यससम्बन्धी चिकित्सक नहुँदा बिरामीलाई सास्ती खेप्नु परेको छ ।’

महिलालाई शल्यक्रिया गर्नु परेमा छिमेकी जिल्लामा रेफर गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख बुढाले बताए । यसअघि जिल्ला अस्पतालबाटै सेवा लिँदै आएका सेवाग्राहीलाई शल्यक्रिया सेवा प्रभावित हुँदा निकै समस्या हुने गरेको उनको भनाई छ ।

‘पहिले हामीले यसै अस्पतालबाट शल्यक्रिया सेवा दिने गरेका थियौँ । तर, अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौँ ।’-उनले भने-‘यहाँ आएका बिरामीलाई अन्य स्थानमा रेफर गर्नुपर्दा बिरामीले दुःख पाउने गरेकाले मन चसक्क हुन्छ । दुःख लाग्छ ।’

अन्य

भिडियो