चन्दननाथ नगरपालिकाको गाडी अज्ञात पक्षले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखिएको क १ झ १ नम्बरको गाडी गए राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
राति सवा १ बजे नगरपालिकाका सुरक्षा गार्ड विष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि घटनाबारे जानकारी गराएका थिए ।
उनले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढक–ढक गरेको र ढोका खोलेर हेर्दा गाडी जलिरहेको देखेको बताए । त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।
जलेको गाडी ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । नगरपालिकाका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको उनले बताए ।
त्यसैगरी गोठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरू नष्ट गरिएको छ ।
कार्यालय भित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले बताए । उनले भने–‘गाउँपालिकामा आगजनी गर्न प्रयास गरिएको देखिन्छ । कागजहरू केही जलाएका छन् ।’
यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गोठचौर पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालले बताए । घटनाको विवरणसहित अनुसन्धान सुरू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए ।