पोखरामा जेनजी समूहको नाममा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनका र त्यसपछिका घटना क्रममा घाइते भएका बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश, पोखरा र इन्सेक गण्डकी प्रदेश, पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामघाट, गण्डकी मेडिकल अस्पताल र मेट्रो सिटि अस्पतालमा भदौ २७ गते गरेको संयुक्त अनुगमनका क्रममा विरोध प्रदर्शनका क्रममा भएका घाइतेको उपचार भइरहेको पाइएको हो ।

गण्डकी अस्पतालको आइसीयूमा १८ वर्षीय लक्ष्मण नेपाली, १९ वर्षीय विवश घर्तिमगर, ३२ वर्षीय रमेश शर्मा र ४२ वर्षीय विजय लामा गरी चार जनाको उपचार भइरहेको छ । घाइते विजय लामाको उपचारमा संलग्न डाक्टरहरूले जलनका बिरामी लामाको स्वस्थ्य अवस्था जटिल रहेको बताएका छन् ।
यसैगरी यही अस्पतालको अर्थोपेडिक विभागमा तनहुँको दुलेगौँडाको प्रदर्शनका क्रममा घाइते भएका २१ वर्षीय कृष्ण विक र पोखरा महानगरपालिका- ४ गणेशटोलमा भदौ २५ गते प्रहरीले प्रहार गरेको गोली लागि घाइते भएका १४ वर्षीय सौरव जैसवालको उपचार भइरहेको छ ।
यसैगरी गण्डकी मेडिकल कलेज, नयाँबजारमा भदौ २४ गते पोखरा महानगरपालिका अगाडि अश्रुग्यासको खोका अनुहारमा लागि घाइते भएका १७ वर्षीय अनिश सापकोटा, लेकसाइट क्षेत्रमा सीसाले खुट्टामा काटेर घाइते भएका १९ वर्षीय अनिश राई, १९ वर्षीय विशाल अधिकारी, १८ वर्षीय सुशान्त विश्वकर्मा, २१ वर्षीय समीर अधिकारी र भदौ २३ गते प्रहरीले प्रहार गरेको गोली लागि घाइते भएका दिपेश परियारको आईसीयूमा उपचार भइरहेको छ ।
साथै भदौ २४ गते नै प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय प्रशान्त भट्टराईको मेट्रो सीटी अस्पतालमा उपचार भइरहेको छ ।
अनुगमनका क्रममा तीन ओटै अस्पतालमा उपचाररत घाइतेहरूको नि:शुल्क उपचार भइरहेको पाइएको छ । अस्पताल प्रशासनले आन्दोलनका क्रममा घाइते भई उपचारका लागि अस्पताल आएकाहरूको नि:शुल्क उपचार गरिरहेको जनाएको छ।
