INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशका दुई जिल्लाबाट भागे कैदीबन्दी, डोल्पामा ग्याँसको सिलिण्डर पड्काएर भाग्ने प्रयास

इन्सेक रुकुम पश्चिम प्रतिनिधि जीवन खड्काका अनुसार रुकुम पश्चिम कारागारबाट ८८ जना कैदीबन्दीहरु ०८२ भदौ २४ गते साँझ ६ बजे ढोका फोडेर भागेका छन् । भागेका ४२ जना कैदीबन्दीलाई २४ गते नै र तीन जनालाई भदौ २५ गते बिहान मुसिकोट नगरपालिकाबाट प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर हरिबहादुर पुनले  ढोका फोडेर भागेका ८८ जना कैदीबन्दी मध्ये ४५ जनालाई गिरफ्तार गरिसकेको बताउनु भयो । ‘ढोका फोडेर भागेको थाहा पाएपछि ४५ जनालाई नियन्त्रणमा लिन सफल भएका छौं,’ इन्स्पेक्टर पुनले भन्नुभयो, ‘बाँकी ४३ जनाको पनि तिब्र खोजी भइरहेको छ ।’  उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले भागेकाहरुको खोजी गरिरहेको बताउनु भयो रुकुम पश्चिम कारागारमा भदौ २४ गतेसम्म १ सय ५८ जना कैदीबन्दी रहेका थिए ।

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला कारागारबाट भदौ २४ गते राति ११ बजे ३६ जना कैदीबन्दी भागेका छन् । कारागार भित्रका हतियार र दाउराको प्रयोग गरी ढोका फोडेर भागेका मध्ये दुई जनालाई प्रहरीले भदौ २५ गते गिरफ्तार गरेको छ । ३४ जना फरार कैदीबन्दीको खोजी कार्य तिब्र रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन डिएसपी बाबु रेग्मीले बताउनु भयो । जेनजी आन्दोलनको मौका छोपी डिउटीमा रहेका प्रहरी र कारागार प्रशासकमाथि हातपात गर्दै कैदीबन्दी भागेका थिए । जुम्ला कारागारमा भदौ २४ गतेसम्म पाँच जना महिला र ९२ जना पुरुषसहित ९७ जना कैदी बन्दी रहेका थिए ।

इन्सेक डोल्पा प्रतिनिधि विष्णु देवकोटाका अनुसार डोल्पा कारागारमा भदौ २५ गते दिउँसो कैदीबन्दीले दुई ओटा सिलिण्डर पड्काएर भाग्ने प्रयास गरेका छन् । तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरुलाई रोकेको छ। उनीहरुले केही समयसम्म आफूहरुको रिहाईको माग गर्दै नाराबाजी समेत गरेका थिए । कारागारको सुरक्षा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा गरेका छन् ।

कर्णालीका अन्य जिल्लाका कारागारहरु शान्तिपूर्ण रहेको इन्सेक प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

अन्य

भिडियो