रामधुनी नगरपालिका–५ स्थित झुम्का क्षेत्रीय कारागारमा विभिन्न रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै कारागारभित्र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कारागारमा रहेका कैदीबन्दीमा ०८२ भदौको पहिलो साताबाट भाइरल जरोको प्रकोप फैलिएसँगै भदौको अन्तिम सातातिर डेङ्गी, इन्फ्लूएन्जा र फिवरसहित स्क्रबटाइफसको सङ्क्रमण पुुष्टि भएपछि कारागार प्रशासनले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
फ्लु भनेर चिनिने डेङ्गी रोग माथिल्लो वा तल्लो श्वासप्रश्वास मार्गमा फैलिएर घाँटी, फोक्सो र नाकमा आक्रमण गर्न सक्ने समस्या, जरोको प्रभाव र इन्फ्लूएन्जा भाइरस सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गर्दा, कुरा गर्दा वा खोक्दा हावाको माध्यमबाट भाइरस सर्ने भएकाले कारागारभित्र रहेका कैदीबन्दी तथा थुनुवा गरी ३ सय बढी प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रशासन तथा स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकले भाइरल ज्वरोको आशङ्का गरे पनि यी तीन ओटा रोगको प्रकोप फैलिएको पुष्टि भएपछि अब त्यही अनुसार परीक्षण तथा उपचार व्यवस्था मिलाइने झुम्का कारागारका जेलर सुवासकुमार लामिछानेले बताउनु भयो । भदौको तेस्रो सातातिर एक हप्ताको अवधिमा तीन जनाको मृत्यु भएपछि कैदी बन्दीहरूमा गरिएको स्वास्थ्य परीक्षणमा एकै पटक तीन ओटा रोगको प्रकोप फैलिएको पुष्टि भएको जेलर लामिछानेले बताउनु भयो । जेलर लामिछानेले भदौ २३ गते कारागारमा चिकित्सक सहितको टोलीले वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो ।
चिकित्सकसहितको १५ जनाको टोलीले कैदीबन्दीको स्वास्थ्य परिक्षण, ल्याव, एक्सरे, भिडियो एक्सरे र नमूना सङ्कलनको काम गरेको छ
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कारागारमा देखिएको समस्याका बारेमा चिकित्सकसहितको टोली परिचान भएको र स्थिति नियन्त्रणमा रहेको बताउनु भयो । कारागारमा कैदीबन्दीहरुमा उच्च ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि ०८२ भदौ १८ गते पनि कारागारमा स्वास्थ्य शिविर चलाइएको थियो ।
स्वास्थ्य शिविरबाट ६३ जना कैदी बन्दीको नमुना सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
स्वास्थ्य शिविर सञ्चालनमा क्रममा १३ जनामा स्वास्थ्य समस्या अलि जटिल देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भर्ना गरेर उपचार गरिएको छ ।
नमुना परीक्षणबाट कैदीहरूमा स्क्रवटाइफस, डेङ्गी र इन्फ्लूएन्जाको प्रकोप रहेको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले केही कैदी, बन्दीहरूमा जापानजी इन्सेफ्लाइटिसको आशङ्का गरिए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो ।
झुम्का कारागारको १ हजार ६ सय क्षमता रहेको छ । अहिले त्यहाँ रहेका ए र बी गरी दुवै ब्लकमा १ हजार ७ सय ९८ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी कैदी बन्दी भएका कारण रोगको सङ्क्रमण फैलिएको चिकित्सकहरूले बताएका छन् ।