सर्केगाड गाउँपालिका–१ माजगाउँस्थित सिर्जनशील प्राथमिक विद्यालय गाउँपालिकाको निर्णय अनुसार अर्को विद्यालयमा गाभिएपछि स्थानीयहरु वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका छन् ।
स्थानीयको रायबिना नै अर्को विद्यालय बिहानी प्राथमिक विद्यालयमा पालिकाले नै गाभ्ने निर्णय गरेपछि उक्त निर्णयको विरोधमा माजगाउँबासीले ०८२ भदौ १७ गते वडा कार्यालयमै तालाबन्दी गरेका हुन् । उनीहरूले सिर्जनशील प्राथमिक विद्यालय गाभ्ने निर्णयले नजिकैका डिलगाउँ र भिटागाउँका बासिन्दालाई समेत पठनपाठनमा असुविधा हुने भन्दै तालाबन्दी गरेर विरोध जनाएका छन् । उक्त विद्यालयमा ६५ जना विद्यार्थीहरु अध्ययनरत थिए । अपायक पर्ने ठाउँमा नजाने भन्दै अभिभावकले बालबालिकालाई विद्यालयमा समेत पठाएका छैनन् ।
विद्यालयलाई अपायक पर्ने स्थानमा गाभ्ने निर्णय गर्दा पालिका र वडा कार्यालय दुवैले समुदायसँग रायसमेत नलिएको स्थानीय प्रयागलाल बुढाले गुनासो गर्नुभयो । ‘जनताको सल्लाह सुझाव बिना विद्यालय बिहानी प्राविमा गाभिएको छ, त्यसैले हामी तालाबन्दी गर्न बाध्य भएका हौं,’ उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले आफूलाई समेत जानकारी नदिई गरिएको मर्ज प्रक्रिया अवैधानिक रहेको दावी गर्नुभयो । ‘विद्यालय गाभ्ने राज्यको नीति अनुसार हुनुपर्छ, तर प्रधानाध्यापक र वडा अध्यक्षको गोप्य मिलोमतोमा मनपरी ढंगले निर्णय गरियो,’ उहाँले भन्नुभयो, ‘यसले समुदायलाई असहज परिस्थिति बनाएको छ ।’
अध्यक्ष रावतका अनुसार सिर्जनशील प्राथमिक विद्यालय २०६८ सालमा सरस्वती माध्यामिक विद्यालयबाट शिक्षा मन्त्रालयकै निर्णयमा छुट्टाइएको विद्यालय हो । अहिले एकाएक गणतन्त्र प्रावि र सिर्जनशील प्रावि गाभ्ने भनिएको निर्णय अचानक परिवर्तन गरी बिहानी प्राविसँग गाभिनु गैरव्यावहारिक भएको उहाँको भनाइ छ । विद्यालय गाभिएको विवादका कारण दुई दिनदेखि पठनपाठन अवरुद्ध भएको स्थानीयले बताएका छन् । यस विषयमा गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिनासँग सम्पर्क गर्दा यो विषय शिक्षा शाखा मातहत पर्ने भएकाले आफू बोल्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।