INSEC Online

📅 २०८३ जेष्ठ २१

झुम्का कारागारका एक जना कैदी र एक जना थुनुवाको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक जना कैदी र पुर्पक्षका लागि थुनामा रहेका एक जना गरी दुई जनाको ०८२ भदौ १७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैद भुक्तान गरिरहेका धरान उपमहानगरपालिका- १० का २४ वर्षीय सागर राई र पुर्पक्षका लागि थुनामा रहेका गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको उपचारका क्रममा भदौ १७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

रामदेव उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका र राई लागु औषध मुद्दामा पुर्पक्षको लागि थुनामा रहेको अवस्थामा अस्वस्थ भएपछि राईलाई भदौ १४ गते घोपामा भर्ना गरिएको डिएसपी खतिवडाले बताउनु भयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई भदौ १७ गते उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उरावको उपचारको क्रममा भदौ १७ गते मृत्यु भएको डिएसपी खतिवडाले बताउनु भयो ।

लागु औषध मुद्दामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका सागर राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि भदौ १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । राईको उपचारको क्रममा भदौ १७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

मृतक दुवै जनाको शव आफन्तले भदौ १७ गते बुझेर लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

कारागारमा कैदी र थुनुवाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले भदौ १७ गते कारागार अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

सुरक्षा समितिले कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य विवरण लिने र गम्भीर स्वास्थ्य समस्या भएका कैदीलाई स्थानान्तरण गर्नेसम्मको योजना बनाएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताउनु भयो ।

झुम्का कारागारको दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना पुरुष कैदीबन्दी र थुनुवालाई राखिएको छ ।

अन्य

भिडियो