INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १ सय २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३ सय ३० जना कैदीबन्दीलाई राखिदै आएको छ।

कारागारमा १६ महिला र ३ सय १४ जना पुरुष कैदीबन्दी रहेको कारागारले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी छन्।  कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुने गरेको कारागार प्रमुख मधु विशुङ्खेले बताउनु भयो ।

‘बिजुली र शौचालयको पनि समस्या उत्तिकै छ । समाधानका विभिन्न प्रयास गर्‍यौ र पूर्ण समाधान हुन सकेको छैन’ उहाँले भन्नुभयो, ‘क्षमताभन्दा बढी सङ्ख्या भएपछि खानेपानी, शौचालयजस्ता आधारभूत सुविधा पूरा गराउन निकै समस्या भएको छ ।’ विशुङ्खेका अनुसार गएको आर्थिक वर्षमा इलाम कारागारबाट १ सय ३८ कैदीबन्दी रिहा भएका थिए । अन्य ठाउँबाट ३१ जना स्थानान्तरण गरी र इलामबाट १३ जना स्थानान्तरण गरी गएका छन् ।

कारगारमा अहिले ६० वर्ष उमेर पुगेका १६ जना, नियमित औषधी सेवन गर्ने २१ जना र एक जना एचआइभी पोजेटिभ समेत रहेको कारागार प्रशासनले जनाएको छ ।

अन्य

भिडियो