कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड र गगने खोलामा ०८२ भदौ १२ गतेदेखि सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएपछि जिल्ला अस्पतालबाट अन्य अस्पतालहरूमा रेफर गरिएका बिरामीहरु समेत अलपत्र परेका छन । निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्गमा चार दिनदेखि यातायात सञ्चालन रोकिएका छन् । जसबाट सुर्खेत, कालिकोट, जुम्ला र मुगुसम्म जाने यात्रुहरुलाई सास्ती भएको हो । यात्रुसँगै कर्णालीका जिल्लाबाट आउने स्याउहरु समेत कुहिन थालेका छन् ।
चार दिनदेखि गाडी अवरुद्ध हुँदा लाखौंको स्याउ कुहिन थालेको तिलागुफा नगरपालिका–१ का मायालाल महताराले दुखेसो पोख्नुभयो । उहाँका अनुसार जुम्लाबाट स्याउ ल्याएका सयौं गाडीहरु बटोमा रोकिएका छन् ।
राजमार्ग खुलाउने प्रयास भइरहेको भएपनि निरन्तर वर्षा भइरहेकोले खुलाउन सकस भइरहेको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनु भयो । उहाँले गगने खोलामा पहिरो आएर यातायतका साधनहरु ठप्प भएको जनाकारी गराउनुभयो ।
वर्षाले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको भएपनि समस्याको दिगो रुपमा समाधान गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

