INSEC Online

📅 २०८३ जेष्ठ २१

हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित त्रिपालमा रात काट्न बाध्य

हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नम्बर ५ कुवाडीका बाढीपहिरो पीडित परिवार त्रिपालमा रात बिताउन बाध्य भएका छन् । सरकारले तत्काल बाढीपीडितहरुको घरबासको व्यवस्था गर्न नसके पनि पीडित भएकाहरुलाई एकसरो त्रिपाल, लुगाकपडा, भाडाकुडा र खाद्यान्न सहयोग गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताउनु भयो ।

तत्काल सहजताका लागि त्रिपाल  र खाद्यान्न उपलब्ध गराइएको र  दिगो बसाई तथा पुनर्स्थापनाका लागि माथिल्लो निकाएमा अनुरोध गरिएको उहाँले बताउनु भयो।

बाढीपीडित परिवारले वर्षातको समयमा त्रिपालमा रात बिताउदा बालबालिका, ज्येष्ठ नागरिकहरु बिरामी हुने गरेको हिमाली गाउँपालिका–१ बिच्छ्याका नरेन्द्रबहादुर थापाले दु:खेसो पोख्नु भयो । त्रिपालमा बस्न बाहेक अन्य विकल्प नभएको र पुनर्स्थापनाका लागि सरकारले कहिले काम सुरु गर्छ थाहा नभएको उहाँले बताउनु भयो ।

०८२ साउन २८ गते साँझ बिच्छ्याको बामुखोलाको पाटनबाट आएको बाढीले ७ करोड १३ लाख रुपियाँ बराबरको क्षति गरेको पुर्‍याएको थियो । विभिन्न पूर्वाधार तथा सामाजिक विकासका योजना र व्यक्तिगत घर र खेतीयोग्य जमीन गरी  ७ करोड १३ लाख रुपियाँ बराबरको क्षती भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनु भयो । हिमाली गाउँपालिकाले सार्वजनिक गरेको क्षती विवरण अनुसार ऊर्जा, सडक पूर्वाधार, आवास लगायतका क्षेत्रमा नोक्सानी गरेको जनाएको छ ।

हिमाली गाउँपालिका–५ स्थित चार ओटा सिञ्चाइ कुलो र खेतियोग्य जमीनमा क्षति पुगेको छ । जसमा गोली सिञ्चाइ कुलो, बिउरी सिञ्चाइ कुलो, रिठा सिञ्चाइ कुलो, दुल्या सिञ्चाइ कुलो रहेका छन् । यसैगरी वडा नम्बर ५ मा १६ घर  र वडा नम्बर १ मा १२ घर पूर्ण रुपमा क्षति भएका छन् भने वडा नम्बर ५ मा २७ र वडा नम्बर १ मा ११ गी ३८ घर आंशिक रुपमा क्षति भएका र कुवाडी लघुजलबिद्युत आयोजना समेत बगाएको गाउँपालिकाले जनाएको छ ।

बाढीपहिरोका कारण चौपाए र खेतीयोग्य जमीनसँगै घरहरु बगाएपछि अहिले पीडित परिवारहरु समस्यामा छन् ।

बाढीले कुवाडी जलविद्युत् आयोजना बगाएपछि त्यस क्षेत्रका स्थानीयहरु अँध्यारोमा बस्न बाध्य भएका छन । बिद्धुत परियोजनाको मात्रै करिब २ करोड ७५ लाख रुपियाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ ।

गाउँपालिका र प्रहरीको तथ्याङ्कका आधारमा जिल्ला बिपद् व्यवस्थापन समितिमा राहतको माग सहित पेश गरिएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण सहित संघीय र प्रदेश सरकारलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय, बाजुराका सूचना अधिकारी शीतलबहादुर रातलले बताउनु भयो ।

अन्य

भिडियो