केदारस्यूँ गाउँपालिका–८ सल्लेधारमा ०८२ भदौ १४ र १५ गते परेको अविरल वर्षाका कारण आएको पहिरोले सिञ्चाइका लागि बनाइएको नहर भत्किनुको साथै स्थानीय चार परिवारको धानबालीमा क्षति पुगेको छ ।
केदारस्युँ गाउँपालिका-८ का अध्यक्ष सुरेशबहादुर जेठाराका अनुसार सल्लेधार गाउँ नजिकैको नहर पहिरोले भत्काउँदा करिब १ सय मिटर तलसम्म पहिरो गएर धानबाली पूर्ण रूपमा नष्ट भएको छ । पहिरोले स्थानीय कलक धामी, मानबहादुर धामी, रंगलाल धामी र आफ्नो जमीनमा ठूलो क्षति पुगेको स्थानीय किसान सिद्धराज धामीले बताउनु भयो ।
०८२ भदौ १५ गते बिहान आएको बाढी सहितको पहिरो रणबहादुर धामीको खेतमा थुप्रिँदा उहाँको धानबाली समेत पूर्ण रूपमा नष्ट भएको छ । वडाध्यक्ष जेठाराले भन्नुभयो,, ‘जमीनभित्रैबाट मूल फुटेर पहिरो अझै खसिरहेको छ ।’ तत्काल रोकथाम गर्न सकिने अवस्था नरहेको अध्यक्ष जेठाराले बताउनु भयो ।
पहिरो अझै खसिरहेको र सल्लेधारबस्ती समेत जोखिममा परेको अध्यक्ष जेठाराको भनाइ छ । पीडितलाई राहत दिलाउन आवश्यक पहल भइरहेको समेत वडाध्यक्ष जेठाराले बताउनु भयो ।

