रामेछाप । रामेछापको सुनकोसी किनारको बिर्ता फाँटमा साहुका जग्गा कमाउन झरेका हायु परिवारहरू तीन पुस्तादेखि ‘कमैया’ वा ‘हलिया’का रूपमा घर र खेतमा पसिना बगाइरहेका छन् ।
नेपालले सन् २००० (२०५७ साल) मै कानुनी रूपमा कमैया प्रथा अन्त्य गरिसकिएको भए पनि बिर्ताका किसान परिवारहरू अझै पनि त्यसकै जञ्जालमा बाँधिएका छन् । उनीहरू आज पनि साहुकै घरमा आश्रित छन् र साहुकै जग्गा खेती गरेर जीवन धानेका छन् ।
तीन पुस्ताअघि बरडाँडाबाट मेहरमान हायु नामक व्यक्ति बिर्ता झर्नु भएको थियो । त्यसयता उहाँका वंशजहरू आजसम्म साहुकै घरमा बस्दै र साहुकै खेत जोत्दै आएका छन् । विडम्बना त के छ भने, छोराहरू छुट्टिँदा साहुको जग्गा पनि भागबण्डा गरेर छुट्टै कमाउने चलन बसिसकेको छ । यसरी साहुको जग्गा नै ‘वंशाणुगत श्रम दासत्व’ झैँ बाँडिएको छ ।
कमैयाले उब्जाएको मकै, जुनेलो, बदाम, फर्सी, बोडी र मास साहुको घरमै थन्क्याइन्छन् । त्यसपछि साहुहरू आफ्नो भागको अन्न लिएर बेच्न काठमाडौंतिर पुग्छन् ।
बिर्ताका अधिकांश जग्गाधनी नेवार समुदायका हुन् । जसको मुख्य बसोबास अहिले काठमाडौँमा छ । उनीहरू कहिले काहीँ रामेछापको भँगेरीमा आउँछन् । त्यही बेला आफ्नो भागको बाली उठाउन बिर्ताको धनसारमा पुग्छन् ।
सुकुम्बासी समस्या समाधान आयोगले २०५७ सालतिर यी कमैयालाई केही हदसम्म राहत दिने प्रयास गरेको थियो । रामचन्द्र वियोगी अध्यक्ष रहेको आयोगले बिर्ताका १४ परिवारलाई तीन देखि साढे तीन रोपनीसम्म जग्गा वितरण गरेको थियो । तर त्यो जग्गा परिवार पाल्न पर्याप्त छैन । अन्न उत्पादनले वर्षभरिको पेट भर्न नसक्दा उनीहरू आज पनि साहुको जग्गा कमाउन बाध्य छन् । उनीहरू आफ्नो नाम खुलाएर साहुलाई चिढ्याउन चाहँदैनन्, साहुहरू कमैया हुन् भन्ने स्वीकार्दैनन् । तर अघोषित रूपमा कमैया हलिया प्रथा यथावत् छ । ‘हामीले थाहा पाएदेखि उहाँहरूले साहुको खेती कमाइ गर्दै आउनु भएको छ, अहिले पनि चलिरहेको छ’, रामेछापका निरबहादुर हायुले भन्नुभयो ।
राज्यले दिएको जमिनले खान नपुग्ने भएपछि कमैया बस्न बाध्य भएका बिर्ताका सागर हायु बताउनुहुन्छ । ‘आफ्नो जमिनको उब्जनिले खान पुग्दैन, त्यसैले साहुको कमाउनै पर्यो’, उहाँले भन्नुभयो ।
कमैया प्रथा कानुनी रूपमा अन्त्य भएको २५ वर्ष बितिसक्दा पनि यस्ता घटना देखिनु मानव अधिकार र सामाजिक न्यायप्रतिको प्रतिबद्धतामाथि प्रश्न हो । स्थानीय सरकार र राज्य संयन्त्रले भूमिहीन र श्रम शोषणमा बाँधिएका समुदायलाई पहिचान गरेर उनीहरूलाई आवास, जीविकोपार्जन र शिक्षा–स्वास्थ्यमा पहुँच दिलाउनुपर्ने आवाज उठिरहेको छ । यस विषयमा कोही बोल्दैनन्, बेला बेलामा सञ्चारकर्मीले कुरा उठाउँछन्, तर बिर्ताको समस्या ज्युँका तिउँ छ ।