निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीको कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसीका नाै घर परिवार पहिरोको जोखिममा परेका छन् ।
आयोजनाले कमेरो माटो रहेको सो क्षेत्रमा सडक बनाउँदा निस्किएको माटो बस्तीको माथिबाट खसालेर पानी नकटाई त्यतिकै छाडिदिँदा पहिरोले पुरै गाउँनै छोप्ने अवस्थामा पुगेको स्थानीय पूर्णबहादुर महतले बताउनु भयो। बस्तीको माथि सडकमा लगाइएको ग्याभिनवाल सबै भत्किएर पहिरो गएको छ । माथिबाट बगेको पहिरोले गर्दा बस्तीको जमिनमा धाँजा फाटेको छ भने एउटा घर समेत भत्किएको महतले बताउनुभयो ।
यस विषयमा सडक आयोजना, नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको उहाँले बताउनुभयो । पहिरोको जोखिमले वर्षाको समयमा घर छाडेर अन्यत्रै बस्नु परेको उहाँले सुनाउनुभयो ।
अन्यत्र बासको व्यवस्था हुनेहरु अन्त हिँडे पनि आफ्नो कतै जाने ठाउँ नहुँदा जोखिम मोलेरै बस्नु परेको ज्ञानकुमारी खड्काले बताउनुभयो । ‘ घरमाथि चिरा चिरा परेर फुटेको छ, अन्त जाने ठाउँ छैन, सधैँ डरैडर छ’, उहाँले भन्नुभयो ।
सडक आयोजनाका प्रमुख ईश्वर कार्कीले सो ठाउँमा कमेरे माटो भएको र पानी पनि निस्किएको कारण समस्या भएको बताउनुभयो । सो ठाउँमा बस्तीमा पानी नझर्ने गरी पानी कटाउन निर्माण कम्पनीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।
भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको हो। सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र सक्नुपर्ने सर्तमा सम्झौता गरिएको थियो। सम्झौताअनुसार १ अर्ब ९४ करोड ७१ लाख रुपियाँमा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि निर्धारित समयमा काम सम्पन्न नभएपछि सोही कम्पनीलाई फेरि १७ महिनाको म्याद थपिएको छ । समयमा काम नगर्दा सडक र सडक आसपासको क्षेत्र अस्तव्यस्त भएको छ ।
सडक क्षेत्रमा तत्काल देखिएको समस्या समाधान गर्दै निर्धारित समयमा काम पूरा गर्ने निर्माण कम्पनीका प्रतिनिधि डिसी शर्माले बताउनु भयो । रामेछाप र ओखलढुंगा जोड्न सो सडक बिग्रिएर अहिले यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ । जसले गर्दा वर्षातको समयमा एम्बुलेन्स समेत रोकिने गरेका छन् ।
