INSEC Online

📅 २०८३ जेष्ठ २१

विपद् पीडितले एक वर्षसम्म पनि पाएनन् राहत

अविरल वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा विपद्का कारण घर सम्पत्ति क्षति भई पीडित भएका व्याक्तिहरुले एक वर्ष पुग्दा पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।

०८१ साउन १५ गतेदेखि १८ गतेसम्म परेको अविरल वर्षाका कारण घर भत्किदा जिल्लाका २५ घरमा पूर्ण क्षति तथा ६० घरमा आंशिक क्षति भएपनि ०८२ भदौ ४ गतेसम्म पीडितहरुले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

 वर्षाले घर पूर्ण क्षति भएका शुभकालिका गाउँपाकिा–७ का मानविरे कामी, सोही ठाउँका डिलबहादुर शाही, छितकौरा शाही, रत्नपुरा शाही, कटकबहादुर शाही र नन्दकला शाहीले राहत पाएका छैनन् । यस्तै राहत नपाउनेमा महावै गाउँपालिका–५ का सरुपा विश्वकर्मा, लक्ष्मण कठायत, सोही गाउँपालिका–६ की शान्ती शाही, लोकबहादुर शाही रहेका छन् । यसैगरी नरहरीनाथ गाउँपालिका–५ का नयाँ सहकारी, पदम सहकारी, मनबहादुर सहकारी, अंख सहकारी र डाइमण्ड सहकारीले पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । अविरल वर्षाका कारण घर पूर्ण क्षति हुँदा उनीहरु छिमेकीहरूको घरमा आश्रय लिन बाध्य भएपनि राज्यबाट राहत पाउन नसकेको पीडित सरुपा विश्वकर्माले गुनासो गर्नुभयो । उहाँले भत्किएका घरहरुको प्रहरीले मुचुल्का बनाइ लिएको एक वर्ष भइसक्दा पनि अहिलेसम्म कुनै पनि निकायले राहत नदिएको बताउनु भयो ।

घर भत्किदा खाने अन्न र भाँडाकुँडा सबै पुरिएपनि रेडक्रसबाट एक त्रिपाल बाहेक सरकारी निकायबाट कुनै राहत नपाएको उहाँले गुनासो गर्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले स्थानीय सरकारले जम्मा गर्नुपर्ने १० प्रतिशत राहत रकम समितिको खातामा आउन ढिलाइ भएका कारण राहत उपलब्ध गराउन ढिलाइ भएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले ‘स्थानीय तह राहत कार्यविधि २०८१’ अनुसार पालिकाले तत्काल राहत उपलब्ध गराई जिल्ला विपद् व्यवस्थापन समितिमा अनुमोदन गराउनुपर्ने प्रावधान भएपनि स्थानीय पालिकाहरुबाट ढिलाइ भएको बताउनु भयो ।

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले विपद्बाट पीडित भएकाहरुले राहत नपाएको विषयमा थप प्रक्रिया बुझेर तत्काल दिने वातावरण मिलाउने प्रतिवद्धता जनाउनु भयो ।

अन्य

भिडियो