खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीया ज्येष्ठ नागरिक धनसरा बुढालाई राष्ट्रिय परिचय पत्र बनाउनकै लागि गाउँबाट सदरमुकाम सिमकोटमा स्टेचर मार्फत बोकेर ल्याइयो । गत साउन २७ गते मंगलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुर्याएको उहाँका छोरा सत्या बुढाले बताउनु भयो । बुढाका अनुसार घरबाट करिब दुई घण्टा स्टेचरमा बोकेर गाडी सञ्चालन भएको मुख्य सडक रहेको बोक्च्या गौँडामा पुर्याइयो । त्यहाँबाट सोही दिन ८ हजार रुपियाँमा गाडी रिर्जभ गरेर सदरमुकाम सिमकोट पुर्याइयो । आँखा नदेख्ने र अन्य स्वास्थ्यमा निकै समस्या भएकी उहाँलाई सरकारको नीति अनुसार सामाजिक सुरक्षा भत्ताकै लागि बैँक खाता खोल्नुपर्ने बाध्यता छ । बिरामीले थला परेकी आमालाई राष्ट्रिय परिचय पत्र बनाउनकै लागि स्टेचरमा बोकेर ल्याए पनि नबन्दा समस्या भएको छोरा सत्या बुढाले बताउनु भयो । ‘राष्ट्रिय परिचय पत्र बनाउनकै लागि गाउँबाट स्टेचरमा बोकेर ल्याइयो । अहिले राष्ट्रिय परिचयपत्र बनेन,’ उहाँले भन्नुभयो, ‘बरु समय र पैसाको मात्रै नोक्सान भयो ।’ राष्ट्रिय परिचयपत्र बनाउनका लागि नौ दिनदेखि सास्ती भोगिरहेको उहाँले गुनासो गर्नुभयो ।
प्रशासन कार्यालयमा जाँदा कहिले इन्टरनेटको त कहिले फर्मको समस्या देखाएर सेवाग्राहीलाई कर्मचारीहरुले फर्काउने गरेको बुढाको भनाइ छ । केही समयअघि जिल्ला प्रशासन कार्यालय हुम्लाका कर्मचारीले नै फर्म भरिदिने गरेको भए पनि पछिल्लो समय कर्मचारीले उक्त फर्म नभरेका कारण राष्ट्रिय परिचयपत्र बनाउनमा ढिलाइ भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । उनका अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामा फर्म भर्ने सुविधा नभएका कारण स्थानीय नागरिकले बजारमा रहेका पसलमा लाइन लाग्न बाध्य छन् । चार दिनदेखि राष्ट्रिय परिचयपत्र बन्न नसकेको अर्का सेवाग्राही ७६ वर्षीय टोपे बुढाले गुनासो गर्नुभयो । हरेक दिन बिहानदेखि बेलुकासम्म लाइनमा लागेर पनि पालो नआएपछि बेलुका रित्तो हात फर्कनु परेको उहाँको भनाइ छ । आइटी पसलमा फारम भरे वापत स्थानीय नागरिकले २ सय ५० रुपियाँ तिर्नुपर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यालयमै फर्म भर्ने व्यवस्था मिलाउन सेवाग्राहीहरुले माग गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफूलाई जानकारी नभएको र आठ दिनसम्म के कति कारणले बनेन त्यसका लागि आफूलाई भेटेपछि तत्काल उहाँको समस्या समाधान गर्ने प्रतिक्रिया दिनुभयो ।
