सर्केगाड गाउँपालिका–१ स्थित तुम्च बडखोलामा पुल नहुँदा देवल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहलाई विद्यालय आवतजावतमा समस्या भएको छ । निरन्तर परेको अविरल वर्षासँगै माथिबाट आएको हिलाम्मे बाढीका कारण विद्यालयमा अध्ययनरत ८० बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएको स्थानीय प्रकाश मल्लले बताउनु भयो । उहाँका अनुसार खोलाको सतह बढेपछि आफूहरुहरूले खोलामा गई जोखिम मोलेर बालबालिकालाई विद्यालयसम्म पुर्याउने गरिएको छ । पुलकै अभावमा देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका सास्ती भोग्न बाध्य भएका छन् ।
हरेक वर्ष हिउँदको समय पानी सानो हुने भएपछि खोलाबाटै हिँड्ने गरेको र वर्षायाममा खोला बढेर आउजाउमा समस्या हुने गरेको छ । विद्यार्थीहरुलाई मात्र नभई स्थानीय सबै नागरिकहरुले यो समस्या हरेक वर्ष झेल्दै आएको स्थानीयको गुनासो छ । सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने उक्त खोलाको एक पट्टी विद्यालय छ भने अर्को पट्टी सर्केगाड गाउँपालिका वडा नम्बर १ को छत्यालबाडा गाउँको सिंगो बस्ती नै छ । उक्त विद्यालयमा अदानचुली गाउँपालिकाका पनि केही विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
