INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्दै हुम्लावासी

नागरिकता र मतदाता परिचय पत्रमा भएका विवरणहरु नमिल्दा राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकलाई समस्या भएको छ । राष्ट्रिय परिचय पत्र बनाउन गाउँ–गाउँमा टोली खटाएको भएपनि यस अघि नागरिकता र मतदाता परिचयपत्र बनाउने क्रममा सम्बन्धित निकायको लापरबाहीका कारण व्यक्तिगत विवरणमा त्रुटी देखिएपछि नागरिकहरुले सास्ती खेपेका छन् ।

पहिला गाउँमा टोली गएर बनाएका नागरिकतामा गलत विवरण टिपोट हुँदा राष्ट्रिय परिचय पत्र बनाउन समस्या भएको चंखेली गाउँपालिका–६ कोर्काका खड्क बुढाले गुनासो गर्नुभयो । उहाँका अनुसार आफ्नो नागरिकतामा पत्नीको नाम हुनुपर्ने ठाउँमा आमाको नाम, आमाको नाम हुनु पर्नेमा बाजेको नाम लेखेका कारण राष्ट्रिय परिचय पत्र बनाउ समस्या भएको हो ।

‘हामी पढेलेखेका थिएनौ । लेख्नेले उल्टो लेखिदिए । अहिले एक दिन लगाएर सदरमुकाम सिमकोट पुगें । खर्च मात्रै भयो । राष्ट्रिय परिचय पत्र बनेन,’ बुढाले भन्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको कमजोरीका कारण आफूहरुजस्ता सयौं व्यक्तिहरुले समस्या भोग्दै आएको उहाँको भनाई छ । राष्ट्रिय परिचय पत्र बनाउदा सक्कलै नागरिकता आवश्यक पर्ने र सोही अनुसार बनाउनुपर्ने भएकोले कसैका नागरिकता नम्बर नमिल्ने, कसैको जारी मिति नमिल्ने त कसैको जन्ममिति नै नमिल्दा धेरैको नागरिकता सच्याउँदै परिचय पत्र बनाउँदा सेवाग्राहीले सास्तीसँगै सेवामा ढिलाइ भएको छ । केही दिनदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली हुम्लाको दुर्गम ग्रामीण गाउँ बस्तीहरूमा पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान थालेपनि त्यहाँ सबै नागरिकको राष्ट्रिय परिचयपत्र बन्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा रहेको विवरण र नागरिकतामा रहेको विवरण फरक परे कानुनले सच्याउन मिल्ने विवरण सच्याउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताउनु भयो ।

अन्य

भिडियो