INSEC Online

📅 २०८३ जेष्ठ २१

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सुरु

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीले ०८२ भदौ मसान्तसम्म स्वयम् पालिका वा वडामा पुगेर नवीकरण गर्नु पर्ने प्रावधान भएपछि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त व्यक्तिहरूलाई वडासम्म पुग्न असहज हुने गरेको छ ।

समस्या समाधानका लागि छविसपाथिभेरा गाउँपालिका–१ का जनप्रतिनिधि र कर्मचारीले वडाबाट मात्र नभई लाभग्राहीको घर र टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सञ्चालन गरेका छन् ।

बिहानदेखि साँझसम्म वडाका विभिन्न बस्ती, टोल र घरमा पुगेर नवीकरण कार्य भइरहेको वडा सचिव सुरेस बोहराले बताउनु भयो । उहाँले भन्नुभयो, ‘शनिबारको दिनमा समेत हामी यसै अभियानमा सक्रिय छौँ । कार्यालय समयमा सर्भर डाउन हुने र सेवाग्राहीलाई टाँढाबाट आउन कठिन हुने भएकाले टोलटोलमै पुगेर काम गरेका हौँ ।’

photo20250814kailali (2)

साउन १३ गतेदेखि वडाका पाँच ओटा स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको वडा अध्यक्ष करनजंगबहादुर सिंहले बताउनु भयो ।

टोलटोलमा पुगेर गरिएको नवीकरणले जनतालाई ठूलो राहत मिलेको उहाँको भनाइ छ । अनिवार्य राष्ट्रिय परिचय–पत्र बनाउन र सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुनुपर्ने जस्ता कारणले असहज महसुस गरेका लाभग्राहीलाई यो अभियानले सहज बनाएको समेत वडाअध्यक्ष सिंहले बताउनु भयो ।

ज्येष्ठ नागरिक भत्ता नवीकरणको लागि आउनुभएको गुरैलथुम टोलकी ९२ वर्षीया उजली धामीले वडामा जान गाह्रो पर्ने भएकाले घरमै भत्ता नवीकरण गरिदिँदा सजिलो भएको बताउनु भयो ।

यो उमेरमा वडासम्म स्वयम उपस्थित भएर नवीकरण गर्न समस्य भएको अवस्थामा घरमै आएर भत्ता नवीकरण गरिदिँदा धेरै सजिलो भयो उहाँको भनाइ छ ।

अन्य

भिडियो