INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य कसुरदार अझै फरार !

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको ०८२ साउन २७ गते २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत पक्ष नेकपा (माओवादी) ले आफ्नो नियन्त्रणमा राखेको ४५ दिनमा ०६१ साउन २७ गते हालको नौमूले गाउँपालिका–३ द्वारीमा उहाँको हत्या गरिएको थियो ।

हत्यामा संलग्न भएका नौ जना मध्ये पाँच जनाले दुई वर्ष मुनिको कैद भुक्तानी गरिसकेका छन् । त्यस्तै एक जनाले दैलेख कारागारमा २० वर्षे जन्मकैद भुक्तान गरिरहेका छन् । घटनाका मुख्य तीन जना कसूरदारको कैद असुली हुन सकेको छैन । तीन जना अझै फरार रहेका छन् ।Photo 2025-08-13 Dailekh

२० वर्षे जन्मकैद तोकेका दुई जना कसुरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ ‘मुक्ति’ भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्का र तीन वर्ष कैद फैसला भएका बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने प्रहरीको सूचीमा फरार छन् । उनीहरु अदालतको लगतमा कैद असुली गर्नुपर्ने कसुरदारमा सूचीकृत छन् ।

दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि जान लागेको बेला ०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए ।

अपहरणको ४५ दिनपछि ०६१ साउन २७ गते थापाको हत्या भएको थियो । पत्रकार मारिएको भन्दै तत्कालिन समयमा माओवादीको चौतर्फी आलोचना भएपछि थापालाई गाडिएको ठाउँ समेत माओवादी कार्यकर्ताहरुले गोप्य राखेका थिए ।

शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले ०६५ साउन १३ गते नौमुले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।

घटनाको चार वर्षपछि थापाको कंकालको वैज्ञानिक परीक्षणपछि ०६५ साउन १८ गते हिन्दू धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । घटना बारे थापाकी पत्नी लक्ष्मी थापाले ०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नौ जना विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

पत्रकारहरुको निरन्तर दबाबपछि ०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका नौ जना मध्ये पाँच जना निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही, लक्षिराम घर्ती मगर र बीरबहादुर केसीलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

गिरफ्तार परेकाहरुका सन्दर्भमा ०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्ती मगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत चार जना गिरफ्तार परेको बेला मुद्दा जगाउन सकिने गरी मुल्तबीमा राख्ने फैसला सुनाएको थियो ।

प्रहरीले घटनमा दोस्रो दोषी साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई घटनाको १७ वर्षपछि ०७६ फागुन २१ गते गिरफ्तार गरेको थियो । थुनछेक बहसपछि त्यही दिन उनलाई दैलेख कारागार चलान गरेको थियो ।

अदालतले ‘अरुण’ भन्ने बमबहादुर खड्का गिरफ्तार परेको दुई वर्षपछि घटनामा संलग्न भएका अरु थप तीन जनाको विषयमा ०७८ मंसिर २६ गते अरुण र हालसम्म फरार भनिएका तीन जनाको मुद्दा मुल्तबीबाट हटाई सजाय तोकेको थियो ।

अपहरण गरेको डेढ महिनापछि ०६१ साउन २७ गते साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र यातना दिएर हत्या गरिएका थापा तत्कालिन समयमा ३३ वर्षका हुनुहुन्यो । रेडियो नेपालको दैलख सम्वाददाताका रुपमा काम गर्दै आउनुभएको थियो । उहाँका पत्नी, दुई छोरी र छोरा छन् ।

अन्य

भिडियो