INSEC Online

📅 २०८३ जेष्ठ २१

सुधार केन्द्रमा राखिएका एकको मृत्यु

पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित पुनःस्थापना केन्द्र (सुधार केन्द्र) मा राखिएका पथरीशनिश्चरे नगरपालिका–२ बोक्रेका २१ वर्षीय विवेक दर्नाल झुन्डिएको अवस्थामा ०८२ साउन २६ गते फेला परेको प्रहरीले जनाएको छ ।

लागु औषध सेवनकर्ता दर्नाललाई अभिभावकले साउन १७ गते सुधार केन्द्रमा राखेका थिए ।

सुधार केन्द्रमा रहेको शौचालयमा साउन २६ गते तन्नाको पासो लगाएर दर्नाल झुण्डिएको अवस्थामा सुधार केन्द्रका कर्मचारीले फेला पारेपछि तत्काल नगर अस्पताल, पथरी पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दर्नाललाई मृत घोषणा गरेका थिए ।

झुण्डिएको अवस्थामा फेला परेका दर्नाललाई सुधार केन्द्रका कर्मचारीले तन्ना काटेर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकबाट मृत घोषणा गरेकाले घटना शङ्कास्पद भएको इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी तुलसीराम अर्यालले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुधार केन्द्रमा यातना दिने गरेको र सोही यातना खप्न नसकेर दर्नालले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

शव पोष्टमार्टमका लागि साउन २६ गते झापाको दमक अस्पताल लगिएको र पोष्टमार्टम रिपोर्टपछि मात्र आत्महत्या हो वा हत्या स्वतन्त्र रूपमा पुष्टि हुने डिएसपी अर्यालले बताउनु भयो ।

सुधार केन्द्रका सञ्चालक कुमार विष्टले झुण्डिएको अवस्थामा फेला परेका दर्नाल लागु औषधको प्रयोगकर्ता भएको र पूरा डोज नपाएपछि तनावका कारण झुण्डिएको हुन सक्ने बताउनु भयो । सुधार केन्द्रमा राखिएकाहरूलाई श्रममा लगाउने, कुटपिट या यातना दिने जस्ता हल्ला निराधार भएको उहाँले बताउनु भयो।

अन्य

भिडियो