INSEC Online

📅 २०८३ जेष्ठ २१

३ हजार भन्दा बढी घरधुरी बिमा सुविधाबाट वञ्चित

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२-०८३ मा सुरु गरेको निःशुल्क घर बिमा कार्यक्रममा छायाँनाथ रारा नगरपालिकाका ३ हजार ५ सय ८९ घरधुरी यो सेवाबाट वञ्चित भएका छन् । प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको उक्त योजना अनुसार व्यावसायिक प्रयोजन बाहेकका सर्वसाधरणहरुका आवासीय घरहरूको अधिकतम २० लाख रुपियाँसम्मको बिमा गरिने व्यवस्था भएपनि नगरपालिकाका केही वडाका कर्मचारीहरूले समयमा विवरण नपठाउँदा सर्वसाधरणले यो सेवाबाट बञ्चित हुन पुगेका हुन ।

छायाँनाथ रारा नगरपालिकाका योजना प्रमुख कर्णराज भामका अनुसार नगरपालिकाले ४ हजार ९ सय घरहरूको बिमा गर्नुपर्ने लक्ष्य राखेको थियो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी मार्फत वडा नम्बर १, २, ४, १०, १३ र १४ का विवरण मात्र सङ्कलन भएकोमा यी वडाका १ हजार ३ सय ११ घरधुरीको मात्र बिमा भएको र वडा नम्बर ३, ५, ६, ७, ८, ९, ११ र १२ का  ३ हजार ५ सय ८९ घरधुरी वडाका कर्मचारी र जनप्रतिनिधिको लापरबाहीका कारण  बिमा सेवाबाट बञ्चित हुन पुगेका योजना प्रमुख भामले बताउनु भयो ।

नगरपालिकाको आयोजनामा ०८२ जेठ २० गते वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा एक दिने कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा असार तेस्रो सातासम्म सबै वडाले विवरण बुझाइसक्नुपर्ने बताइए पनि वडा नम्बर ३, ५, ६, ७, ८, ९, ११ र १२ का प्राविधिकले विवरण समयमै नपठाउँदा ती वडाका सेवाग्राही बिमा सुविधाबाट वञ्चित भएका हुन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका मुगु शाखा प्रमुख मीनबहादुर मल्लका अनुसार पक्की, परम्परागत, ढुङ्गामाटो, काठ वा पराल प्रयोग गरी बनाइएका आवासीय घरहरूको मात्र बिमा गरिएको हो । बिमा कार्यक्रमले भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, चट्याङ, विस्फोटन, हुलदङ्गा लगायतका विपदबाट हुने क्षतिको राहत दिने व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

यस्तै, छायाँनाथ रारा नगरपालिका —१० स्थित चराप गाउँमा साउन १४ गते राति परेको अविरल वर्षाले  चार घर पूर्ण र पाँच घरमा आसिंक क्षति भई ९  घरवार बिहिन हुँदा पनि बिमा विवरण सङ्कलन नगरिएका कारण पीडित परिवारले बिमा सेवा पाउन सकेका छैनन् । पालिकाले समयमै स्थानीयका घर बिमाका लागि आवश्यक पहल नगरेकै कारण पीडित सेवा पाउनबाट बञ्चित हुन पुरेको स्थानीय राजेन्द्र ऐडीले बताउनु भयो ।

 

अन्य

भिडियो