भगवतीमाई गाउँपालिका- ७ को बडाभैरव र वडा नम्बर ६ को कट्टी जोड्ने ज्योतिङ्गे खोलामा रहेको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । २०५४ सालमा निर्माण गरिएको झोलुङ्गे पुलमा बिछ्याइएका फ्ल्याक कुहिएपछि उक्त पुल जीर्ण बनेको हो ।
भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष पूर्णहादुर थापाले झोलुङ्गे पुल मर्मतका लागि गाउँपालिका र पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरेपनि कसैले चासो नदेखाएको बताउनु भयो । जीर्ण पुलमा ज्यान जोखिममै राखेर नागरिकहरु आवतजावत गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउनुभयो । भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले आफ्नै बजेट र विकास साझेदार संघ संस्थाको सहयोगमा नयाँ पुल बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।
