INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका २५ प्रतिशत महिला घरमै सुत्केरी

कर्णाली प्रदेशमा ३५ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार ६५ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने गरेका छन् । ३५ प्रतिशत महिला घरमै सुत्केरी हुँदा आमा र बच्चाको मृत्यु हुने लगायतका जोखिम बढेकोले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न अभियान थालिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । साउन २२ गते मन्त्री भण्डारीले आफूले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा गरेका प्रगति ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नाम पुस्तक मार्फत जानकारी दिँदै यस्तो जानकारी दिनुभएको हो ।

उहाँले घरमै शून्य सुत्केरी हुने अभियान गर्न १० वटै जिल्लामा ४५ लाख ५० हजार रुपियाँका दरले बजेट विनियोजन गरिएको बताउनु भयो । ‘घरमै सुत्केरी हुनेको संख्या अहिले पनि कर्णालीमा उत्तिकै छ । त्यसलाई शून्य बनाउनका लागि हामीले बजेट विनियोजन गरेर अभियान नै चलाएका हौं,’ उहाँले भन्नुभयो, ‘कर्णालीको वार्षिक मातृ मृत्युदर १ सय ७२ छ । त्यसलाई यो अभियानले कम गर्नेछ ।’

त्यस्तै उहाँले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी प्रदेशभर २२ हजार ७ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरी ४ हजार ७ सय ५८ जनामा उच्च रक्तचाप, मधुमेह, म्रिगौला जस्ता दीर्घरोगको पहिचान गर्न सफल भएको, अस्पतालमा नवजात शिशुको विशेष स्याहारका लागि एसएनसियु सेवा सञ्चालन गरिएको मन्त्री भण्डारीले बताउनु भयो । त्यस्तै मन्त्रालयले एक वर्षको अवधिमा कडा रोगको ‘मेजर अपरेसन’ गरेका १ सय ३१ जना बिरामीलाई प्रतिव्यक्ति १ लाख रुपियाँसम्मको उपचार सहायता प्रदान गरेको छ । बालविवाह अन्त्यका लागि प्रादेशिक रणनीति मसौदा तयार भएको, बालबालिका हराएमा खोज्नका लागि बालबालिका खोज तलास केन्द्र सञ्चालन गरिएको लगायतका कामहरु गरिएको मन्त्रालयले जनाएको छ ।

अन्य

भिडियो