आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भएपनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता सहजै उपलब्ध हुँदैनन् । तर, इलाम जिल्लामा आर्थिक वर्ष ०८१/८२ मा १ सय २ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट आर्थिक वर्ष २०८१/८२ मा १ सय २ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् ।
जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवम् जिल्ला प्रशासन कार्यालयबाट तीन र इलाका प्रशासन कार्यालयले दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।
बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो । उहाँले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भएपनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको बताउनु भयो ।
आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु भयो ।
बुबाको पहिचान नभएका, बुबा पत्ता नलागेका आमामात्र भएका सन्तानका हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायत कागजपत्रका आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोहीबमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।
‘बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनले नै व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको हुनाले त्यस्तालाई भने नागरिकता वितरण गर्न सकिएको छैन ।’
नागरिकताकै अभावमा अध्ययन गर्न, जागिर खान तथा विभिन्न सेवा लिनबाट वञ्चित व्यक्तिले नागरिकता पाएसँगै सबै सेवा प्रवाहमा पहुँच पुगेको उहाँको भनाइ छ । यस अवधिमा तीनवटै कार्यालयमार्फत इलामका ६ हजार ४ सय ६१ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । ४० जनाले वैवाहिक अङ्गीकृत र चार जनाले गैरआवासीय नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो ।
यस अवधिमा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् भने दुई जनाको नागरिकता रद्द गरिएको छ । त्यस्तै १ सय ४२ जनालाई नाबालक प्रमाणपत्र जारी गरेको छ । त्यसैगरी ६ हजार १ सय ३७ वटा संशोधनरहित र ४ हजार ३ सय ३२ वटा संशोधनसहित नागरिकताको प्रतिलिपि जारी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
एक वर्षको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि इलामका १५ हजार २ सय ९९ जनाको विवरण संकलन गरिएको छ । ७ हजार २ सय ३९ जनालाई परिचयपत्र वितरण गरिएको छ ।